काठमाडौँ। सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ।
न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले अनुसन्धान भइरहेको मिसिल फाइलसमेत झिकाउने सोमबार आदेश गरेको हो।
भट्टलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनकी श्रीमती आयुष्मा नेपालले १८ वैशाखमा सर्वोच्च अदालतमा बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्। सर्वोच्चले उनलाई थुनामा राख्नुको कारणसमेत पेस गर्न आदेश गरेको छ।
भट्टलाई १९ चैत २०८२ मा प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीमाथि सम्पत्ति शुद्धीकरणलगायतको आरोपमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो। उनलाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्ने अनुमति दिएको थियो।