फोटो कथा
राजधानीको शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत ठूला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन लाग्ने दृश्य सामान्य
काठमाडौँ। सरकारले आइतबार सरकारी अस्पतालमा बिदा दिने निर्णय गरेसँगै सोमबार विभिन्न सरकारी अस्पतालका बहिरंग (ओपीडी) सेवा लिन आउने बिरामीको चाप बढेको छ।
पछिल्लो समय विश्वव्यापी रूपमा देखिएको इन्धन अभाव समाधानका लागि सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। राजधानीको विभिन्न सरकारी अस्पतालमा सीमित जनशक्ति र पूर्वाधारका बीच दैनिक हजारौँ बिरामीको उपचार गर्नुपर्दा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था सिर्जना भएको चिकित्सकहरू बताउँछन्।
राजधानीको शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलगायत ठूला सरकारी अस्पतालमा बिहानैदेखि लामो लाइन लाग्ने दृश्य सामान्य बनेको छ। सामान्य जाँचदेखि जटिल रोगको उपचारसम्मका लागि एउटै अस्पतालमा निर्भर रहनुपर्ने बाध्यताले सेवा लिन आउनेहरूको संख्या बढिरहेको हो।
स्वास्थ्यकर्मीका अनुसार एकजना चिकित्सकले दैनिक १०० देखि १५० जना बिरामी जाँच गर्नुपर्ने अवस्था छ। जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा निकै बढी हो। सामान्यत: एक चिकित्सकले गुणस्तरीय सेवा दिन दैनिक ३०-४० बिरामी जाँच गर्नु उपयुक्त मानिन्छ। तर काठमाडौँका सरकारी अस्पतालमा यो अनुपात तीनदेखि चार गुणासम्म बढी देखिएको छ।
बिरामीको चापसँगै समय अभावका कारण चिकित्सकले प्रत्येक बिरामीलाई पर्याप्त समय दिन नसक्ने समस्या पनि बढेको छ। यसले उपचारको गुणस्तरमा समेत असर पार्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरू बताउँछन्।
अर्कोतर्फ निजी अस्पतालको सेवा महँगो हुँदा गरिब तथा न्यून आय भएका नागरिकको पहुँच बाहिर परेको छ। राजधानीका धेरै निजी अस्पतालमा सामान्य जाँचमै हजारौँ रुपैयाँ खर्च हुने भएकाले सर्वसाधारण बाध्य भएर सरकारी अस्पतालमै धाउनुपरेको छ।
स्वास्थ्य सेवा विभागका एक अधिकारीका अनुसार सरकारी अस्पतालमा आवश्यक जनशक्ति, उपकरण र पूर्वाधार विस्तार नगरेसम्म समस्या समाधान नहुने देखिन्छ। “बिरामीको चाप घटाउन प्राथमिक स्वास्थ्य केन्द्र र प्रदेशस्तरका अस्पताललाई प्रभावकारी बनाउनुपर्छ,” उनले भने।
विशेषज्ञहरूका अनुसार स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार र चिकित्सकको संख्या वृद्धि गरे मात्र काठमाडौँका सरकारी अस्पतालमा देखिएको अत्यधिक भिड व्यवस्थापन गर्न सकिनेछ।
हेर्नुहोस् त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएका सर्वसाधारणको भिडका थप तस्बिर :
