काभ्रेपलाञ्चोक। वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले सोमबार साँझदेखि आवागमन बन्द गराएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा आवागमन बन्द गराएको हो।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने उद्देश्यले आज साँझ ५ बजेदेखि आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
सूचना अधिकारी विष्टका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सडक यात्रीलाई अपिल गरिएको छ।
वर्षाका कारण पटक पटक रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको विभिन्न स्थानमा अस्थायी डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदै आएको थियो।
यसअघि यही वैशाख दोस्रो साता पनि रोशी खोलाको बाढीले उक्त स्थानमा सडक अवरुद्ध बनाउँदा बिपी राजमार्ग दुई दिनपछि खुलेको थियो।
कार्यालयका अनुसार सोही वर्षाले राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा करिब चार किलोमिटर डाइभर्सन बगाएको थियो।
गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानमा सडक बगाएपछि पुनःअस्थायी डाइभर्सन निर्माण गरिएको थियो।
गत वर्षको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ।
राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभञ्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको जिल्ला ट्राफिक कार्यालय बनेपाले जनाएको छ।