काठमाडौँ। एथलेटिक्स परिवार नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा ‘नेपाल ५ के रन च्यालेन्ज’को पहिलो चरण शनिबार हुने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष राजन खत्रीले प्रतियोगिताको तयारी पूरा भएको र यसमा ६ वटा विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुने जानकारी दिए। प्रतियोगितामा करिब २५० भन्दा बढी धावकको सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतियोगितामा खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ। १८ वर्षमुनि महिला/पुरुष र ३५ वर्षमाथि भेट्रान महिलातर्फ तीन किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ।
महिला/पुरुष खुला पाँच किलोमिटरमा पहिलोलाई हुनेले १२ हजार, दोस्रोलाई आठ हजार, तेस्रोलाई चार हजार, चौथोलाई दुई हजार, पाँचौँलाई १५ सय र छैटौँदेखि दशौँलाई जनही एक हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ।
४५ वर्षमाथि भेट्रान पुरुषमा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई पाँच हजार, तृतीयलाई तीन हजार, चौथोलाई दुई हजार, पाँचौँलाई १५ सय र छैटौँदेखि दशौँलाई जनही एक हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ।
१८ वर्षमुनि तीन किलोमिटरमा महिला/पुरुषतर्फ प्रथम हुने खेलाडीलाई नौ हजार, द्वितीयलाई ६ हजार, तृतीयलाई तीन हजार, चौथोलाई दुई हजार, पाँचौँलाई १५ सय र छैटौँदेखि दशौँलाई जनही एक हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ।
३५ वर्षमाथि महिला भेट्रानमा प्रथम हुनेलाई खेलाडीलाई सात हजार, द्वितीयलाई चार हजार, तृतीयलाई दुई हजार, चौथोलाई १५ सय, पाँचौँलाई १२ सय र छैटौँदेखि दशौँलाई जनही एक हजारका दरले नगद पुरस्कार प्रदान गरिनेछ। अनुमानित बजेट सात लाख ६६ हजार रुपैयाँ रहेको छ।
पाँच किलोमिटर खुलातर्फ महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि १ अंक प्रदान गरिनेछ। यो दौड दुई महिनाको अन्तरालमा तीन चरणमा हुनेछ। बाँकी दुई चरणको दौडमा पनि पहिलो चरणसरह नै अंक प्रदान गरिने। तेस्रो चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता हुनेछ। ग्रान्ड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।
दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टेखोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हुँदै पुनः नगरपालिका भवनमा सम्पन्न हुनेछ।
चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीले नगरमा खेलकुद गतिविधिमा उत्साह जगाउन प्रतियोगिता आयोजना गर्न लागेको बताए।