क्रिकेट
पहिलो घरेलु शृंखलामा निराशाजनक सुरुआत गरेको नेपालले यसपल्ट समातेको लय
काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा भएको शृंखलामा ओमानविरुद्ध सानदार जित निकाल्दै नेपालले पहिलो खेलको हारको बदला लिएको छ। ६ दिनअघि ओमानसँग १०२ रनले पराजित नेपालले मंगलबारको खेलमा ८१ रनको जित निकालेको छ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानसँग १०२ रनले पराजय भोगेपछि नेपाली राष्ट्रिय टोलीका बलिङ अलराउन्डर सोमपाल कामीले प्रतिक्रिया दिँदै भनेका थिए, “हाम्रो योजना कम्तीमा २० ओभरसम्म विकेट जोगाउने थियो। तर, विकेट जोगाउने प्रयासमै रन बनाउने गतिमा कमी आयो। यदि स्ट्राइक रोटेट गर्दै स्वाभाविक खेल खेल्न सकेको भए सायद नतिजा हाम्रो पक्षमा आउन सक्थ्यो।”
सोमपालको यो भनाइ सान्दर्भिक थियो। करिब डेढ वर्षपछि घरेलु मैदानमा ओमानलाई आतिथ्य दिएको नेपाल त्यतिबेला हतासमा देखिएको थियो। वर्षाले प्रभावित उक्त खेलमा डकवर्थ लुइस (डीएलएस) मेथडअनुसार २५८ रनको लक्ष्य पछ्याएको नेपाल १५५ रनमै समेटियो। र, १०२ रनको फराकिलो हार बेहोर्न बाध्य बन्यो।
त्यसको ठिक ६ दिनपछि नेपालले स्वाभाविक शैलीमा खेल प्रस्तुत गर्यो। सुरुआतदेखि नै आक्रामक र संयमित ब्याटिङ गर्दै उत्कृष्ट प्रदर्शन गरेको नेपाल ओमानविरुद्ध ८१ रनको प्रभावशाली जित निकाल्न सफल रह्यो। खेलपछि जितका नायक बनेका गुल्सनकुमार झाले पनि पहिलो खेलमा भएको कमजोरी स्विकारे। “हामीले चारमा चार जित निकाल्ने योजना बनाएका थियौँ। ओमानविरुद्धको पहिलो खेलमा हामीले आवश्यकताभन्दा बढी सोच्यौँ। एक खेल गुमाए पनि तीन खेल जित्न सफल त भयौँ,” उनले भने।
नेपाल र ओमानबीच एकदिवसीय फर्म्याटमा यो १०औँ भेट हो। यसअघि भएका नौ खेलमध्ये नेपालले ६ खेलमा हार बेहोरेको थियो, जसमध्ये तीन हार त कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै भएको थियो। मंगलबारको खेलमा नेपालले त्यो इतिहास उल्टाउँदै उत्कृष्ट प्रदर्शन गर्यो। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले पुनरागमन गरेका आसिफ शेखको ९४ रनको सानदार इनिङ्सको मद्दतले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २५६ रन बनायो।
जवाफी ब्याटिङमा उत्रिएको ओमानका लागि भने गुल्सन घातक साबित भए। उनले नौ ओभरमा ३८ रन खर्चिंदै पाँच विकेट लिएपछि ओमान ३९.५ ओभरमा १७५ रनमै समेटियो। यससँगै नेपालले चार खेलको शृंखलामध्ये तीन खेल जित्दै शृंखला टुंग्यायो।

जितपछि विभागीय मन्त्री सस्मित पोखरेलसँग सामूहिक तस्बिर खिचाउँदै खेलाडी तथा क्यानका पदाधिकारी।
यसअघि नेपालले पाहुना टोली युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ३७ रन र ६ रन (डीएलएस मेथड)ले पराजित गरेको थियो। यद्यपि, उक्त जितले अंकतालिकामा नेपालको स्थानमा कुनै परिवर्तन ल्याउन सकेन। नेपाल २४ खेलबाट १८ अंकसहित सातौँ स्थानमा छ भने चार खेल बढी खेलेको ओमान ३१ अंकसहित तेस्रो स्थानमा छ। स्थानभन्दा पनि खेलाडीको प्रदर्शनसहितको जित महत्त्वपूर्ण रहेको गुल्सन बताउँछन्।
“हाम्रो त सबै खेल जित्ने लक्ष्य थियो। ओमानसँगको पहिलो खेल राम्रो भएन। यस खेलमा पनि पहिलो बलमै विनोद दाइ (भण्डारी)को विकेट गयो। टिममा आएको नयाँ खेलाडी अर्जुन (कुमाल) टिकेर खेले। उनको त्यो ४८ रनको इनिङ्स जितमा एकदमै महत्त्वपूर्ण रह्यो,” गुल्सन भन्छन्।
घरेलु मैदानमा फर्किएको लय
५० ओभरको यस चक्र (२०२३-२०२७)मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान नेपाली टोलीका लागि एकदमै भाग्यमानी साबित भइरहेको छ। २०१९-२०२३ चक्रमा १३ मा हार, एक बराबरी र एक नतिजाविहीन भएको अवस्थामा नेपाल पहिलोपल्ट पाएको एकदिवसीय मान्यता जोगाउन नै संघर्षरत थियो। सोही चक्रका पछिल्ला आठमा खेलमा नेपालले चमत्कारी पुनरागमन गर्यो।
ती खेलमा नेपालले सो चक्रको विजेता स्कटल्यान्डलाई मात्र होइन, नामिबिया, कमजोर टोली पपुवा न्युगिनी र यूएईलाई समान दुईप टक पराजित गर्यो। सोही आठ खेलमा जोडेको १६ अंकले नेपालले २०२७ सम्म एकदिवसीय मान्यता मात्र जोगाएन, शीर्ष तीन (३६ खेलमा ४० अंक) स्थानमा रहँदै जिम्बाबेमा सम्पन्न एकदिवसीय विश्वकप छनोटमा सोझै स्थान बनायो।
त्यही लय निरन्तरता दिने लक्ष्यसहित नेपाली टोली अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले आयोजना गर्ने विश्वकप छनोटमा स्थान सुरक्षित गर्न र आगामी चार वर्षसम्म एकदिवसीय मान्यता जोगाउन मैदानमा उत्रिएको थियो। तर, २०२३-२०२७ को नयाँ चक्रको सुरुआत भने अपेक्षाअनुसार हुन सकेन।
पछिल्ला चार भेटमा नेपालविरुद्ध अमेरिका अपराजित छ। त्यसैगरी, स्कटल्यान्डसँग पनि नेपालले १० खेल खेलेको छ, जसमध्ये ६ खेलमा हार बेहोरेको छ। यी तथ्यांकले आगामी शृंखला नेपालका लागि परीक्षा हुनेछ।
घरेलु मैदानमा नामिबिया र नेदरल्यान्ड्स सहभागी शृंखलाबाट नयाँ अभियान सुरु गरेको नेपालले त्यस चरणमा एक जित मात्र हात पार्न सक्यो। १५ फेब्रुअरी २०२४ मा नामिबियासँग चार विकेटले पराजित नेपालले त्यसको दुई दिनपछि नेदरल्यान्ड्सलाई नौ विकेटले पाखा लगाउँदै पुनरागमनको संकेत त दिएको थियो, तर समग्र प्रदर्शन सन्तोषजनक रहन सकेन।
त्यसपछिका दुई खेलमा नामिबियासँग दुई र नेदरल्यान्ड्सँग आठ विकेटको हार बेहोर्यो। त्योसँगै नेपाल दुई वर्ष दुई महिनापछि सोही चक्र पूरा गर्न नेपाल घरेलु मैदान फर्किँदै यूएईविरुद्ध खेल्दै लिग २ को दोस्रो शृंखला सुरुआत गरेको थियो।
परिवर्तनको सँघारमा रहेको यूएईविरुद्ध जित निकाल्न भने नेपाललाई त्यति सकस भएन। हुन त यो टोली आफैँमा लयविहीन थियो। अंकतालिकामा आफूभन्दा तल रहेको यूएईलाई ३७ रनले हराउँदै नेपालले सकारात्मक सुरुआत गर्यो। त्यसपछि भएको दोस्रो खेलमा भने ओमानसँग निरीह प्रदर्शन गर्दै पराजय बेहोर्नुपर्यो। त्यसको मुख्य कारण भने ब्याटरले समय लिन नसक्नु नै रहेको बताउँछन् ओपनर आसिफ शेख।
“यो विकेटमा अलिकति समय लिनुपर्छ। जानेबित्तिकै आफ्नो फ्लोमा लाग्दैन। लिमिटेड सटहरू खेल्नुपर्छ। त्यसले पछि गएर कन्भर्ट गर्न सजिलो हुन्छ,” उनी भन्छन्।
परिवर्तनले दिएको दुई जित
हार मनै नपर्ने बताउने नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले यसपटक जोखिम उठाए। लामो समयदेखि एउटै ‘स्क्वाड’ मा भर पर्दै आएको अवस्थामा उनले यसपटक प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका अर्जुन कुमाल र विनोद भण्डारीलाई अवसर दिए।
गत १७ अप्रिलमा सम्पन्न प्रधानमन्त्री कपमा २० वर्षीय अर्जुन गण्डकी प्रदेशबाट खेल्दै दुई शतक र दुई अर्धशतकसहित ५०४ रन बनाएर प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेका थिए। यद्यपि, उनको टोली गण्डकी प्रदेश चार जितसहित सातौँ स्थानमा सीमित रह्यो। व्यक्तिगत प्रदर्शनले अर्जुन राष्ट्रिय टोलीको ढोका खोल्न सफल रहे।
अर्जुनले यूएईविरुद्धको दोस्रो खेलबाट डेब्यु गर्दै नियमित ओपनर कुशल भुर्तेलको स्थानसमेत लिए। उक्त खेलमा उनी ११ रनमै आउट भए। त्यस्तै, प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीलाई उपाधि दिलाउन ४०४ रन बनाएका अनुभवी विकेटकिपर ब्याटर विनोदले पनि झन्डै चार वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरे।
पछिल्ला दुई वर्षमा नेपालले आफूलाई विश्वका उत्कृष्ट एसोसिएट टोलीमध्ये एकका रूपमा स्थापना गरेको छ। नेपालले अहिले खेलिरहेको क्रिकेटको शैली निकै राम्रो र उत्साहजनक छ।
पुनरागमन खेलमै उनले ७९ बलमा सात चौकासहित ५६ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ्स खेले। खेलमा कप्तान रोहितकुमार पौडेलले ३९ रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले शतकीय (१०० रन) योगदान दिए।
नेपालले २९० रनको लक्ष्य प्रस्तुत गरेपछि वर्षाका कारण खेल प्रभावित भएको थियो। डीएलएस मेथडअनुसार यूएईले ३८ ओभरमा २५५ रनको संशोधित लक्ष्य पाएको थियो। यूएई ६ विकेट गुमाउँदै २४८ रनमै सीमित हुँदा नेपाल ६ रनले विजयी बन्न सफल भयो। त्यसयता प्रशिक्षक स्टुअर्ट लले टोलीको शीर्षक्रममा परिवर्तन गरिरहन आवश्यक ठानेनन्। ओमानविरुद्ध मंगलबारको खेलमा तेस्रो स्थानका भीम सार्कीलाई विश्राम दिँदै उनले कुशलका जोडी आसिफ शेखलाई पुनः ओपनिङमा फर्काएका थिए।
उनले अर्जुनलाई तेस्रो स्थानमा धकेल्दै ओपनिङमा विनोदसँग नयाँ जोडी बाँधिदिए। विनोद एक बलमै जितेन रामानन्दीको बलमा हम्माद मिर्जाबाट क्याच भए। उनी रन नै नजोडी फर्किए पनि नेपाली टोलीका लागि अर्जुन ‘टर्निङ पोइन्ट’ बने। उनले तेस्रो नम्बरमा आएर आसिफसँग १२३ रनको विशाल साझेदारी गरे। यद्यपि, ८७ बलमा चार चौका प्रहार गरेका अर्जुन अर्धशतकबाट दुई रनले चुके। तर, आसिफले ९४ रनको सानदार इनिङ्स खेल्दिए। यता, उनकै दाजु आरिफ शेखले आक्रामक फिनिसिङ गर्दै २४ बलमा एक चौका र चार छक्कासहित ४३ रनको इनिङ्स खेले। योसँगै ओमानले २५६ रनको लक्ष्य पाएको थियो।

नेपाल र ओमानबीचको खेल हेर्न मैदानमा उपस्थित दर्शक।
गुलसनकुमार झाले नौ ओभरमा ३८ रन खर्चिंदै पाँच विकेट लिएपछि ओमान ३९.५ ओभरमा १७८ रनमै धराशायी हुन पुग्यो र नेपाल ८१ रनले विजयी भयो। ओमानका मुख्य प्रशिक्षक सुलक्षण कुलकर्णी यो जित नेपालले पछिल्लो समय क्रिकेटमा गरेको उल्लेखनीय सुधारका कारण सम्भव भएको बताउँछन्।
“पछिल्ला दुई वर्षमा नेपालले आफूलाई विश्वका उत्कृष्ट एसोसिएट टोलीमध्ये एकका रूपमा स्थापना गरेको छ। नेपालले अहिले खेलिरहेको क्रिकेटको शैली निकै राम्रो र उत्साहजनक छ,” उनी भन्छन्।
लय कायम राख्ने चुनौती
नेपालले अब कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै १२ मेदेखि स्कटल्यान्ड र अमेरिकाविरुद्ध अर्को महत्त्वपूर्ण शृंखला खेल्ने तालिका छ। यो शृंखला नेपालका लागि अझ चुनौतीपूर्ण हुने देखिन्छ। अमेरिका २४ खेलबाट ३६ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। चार खेल बढी खेलेको स्कटल्यान्डले ३४ अंकसहित पछ्याइरहेको छ।
हालको प्रदर्शनका आधारमा यी दुवै टोली नेपालका लागि ओमान र यूएईभन्दा कडा प्रतिस्पर्धी हुने स्पष्ट संकेत देखिन्छ। विगतका नतिजाले पनि यही तथ्यलाई पुष्टि गर्छन्। नेपालले यस फर्म्याटमा अमेरिकासँग ११ पटक प्रतिस्पर्धा गरेको छ। एक खेल बराबरीमा टुंगिँदा ६ खेलमा नेपाल पराजित भएको छ।
अझ पछिल्ला चार भेटमा नेपालविरुद्ध अमेरिका अपराजित छ। त्यसैगरी, स्कटल्यान्डसँग पनि नेपालले १० खेल खेलेको छ, जसमध्ये ६ खेलमा हार बेहोरेको छ। यी तथ्यांकले आगामी शृंखला नेपालका लागि परीक्षा हुनेछ। आसिफ भने धेरै टाढाको कुरा नसोचेको बताउँछन्।
“सबै खेल महत्त्वपूर्ण छन्। हामी धेरै कुरा सोच्दैनौँ। पहिलो खेलमा सकेजति सबै योजना कार्यान्वयन गर्छौं र अगाडि बढ्छौँ,” उनी भन्छन्। नेपालले १२ र १८ मेमा स्कटल्यान्डसँग खेल्नेछ। १६ र २२ मेमा भने अमेरिकालाई चुनौती दिँदै घरेलु मैदानको दोस्रो शृंखला सकाउनेछ।