काठमाडौँ। त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले स्कटल्यान्डको राष्ट्रिय टोलीलाई ४५ रनले पराजित गरेको छ।
२७८ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४८.२ ओभरमा २३२ रनमै समेटियो।
नेपालका लागि रासिद खानले तीन विकेट लिए। उनले ३.२ ओभरमा २३ रन खर्चे। युवराज खत्री, बसिर अहमद र साहब आलमले समान दुई विकेट आफ्नो पोल्टामा पारे। कुशल मल्लले एक विकेट लिए।
स्कटल्यान्डका लागि फिन्ले म्याकक्रिथले ५२ रनको योगदान दिए। ज्याक जार्भिसले ४५, मार्क वाटले ३७ म्याथु क्रसले २२ र ब्रान्डोन म्याकमुलेनले २१ रन थपे।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ टोलीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २७७ रनको योगफल तयार पारेको थियो।
नेपाल ‘ए’ का लागि देव खनालले सर्वाधिक ६३ रनको योगदान दिए। उनले ६५ बलमा ६ चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६३ रनको बनाए।
त्यसैगरी ओपनर मयन यादवले ४५ रन बनाउँदा कप्तान अनिलकुमार साहले १८ रन जोडे। सन्दीप जोरा ३४, पवन सर्राफ ३१ तथा नारायण जोशी ८ रन बनाउँदै आउट भए। दीपक डुम्रेले अविजित २३ रन बनाए।
स्कटल्यान्डका लागि ब्रान्डली करी र सफियान सरिफले समान २/२ विकेट लिए भने ओलिभर डेभिडसन, ब्रान्डन म्याकमुलन, ज्याक जार्भिस र मार्क वाटले समान १/१ विकेट लिए। नेपाल ‘ए’ टोलीले भोलि (शुक्रबार) अमेरिकासँग खेल्नेछ।