काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको छ।
विभागले शुक्रबार ललितपुरस्थित एक कार्यक्रम आयोजना गरेर सार्वजनिक गरेको ‘मनसुन ऋतुको जलवायु आँकलन’ प्रतिवेदन अनुसार कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पूर्वी भू-भाग र कोशी प्रदेशका दक्षिणी भू-भागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना बढि छ। यहाँ सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशत देखि ६५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल बताउँछिन्।
यस्तै सुदूरपश्चिम प्रदेशका अधिकांश भू-भाग, मधेश प्रदेशका पश्चिमी भू-भाग र कोशी प्रदेशका मध्य भू-भागमा सरदर भन्दा कम वर्षा हुने संभावना ४५ प्रतिशत देखि ५५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका उत्तरी भू-भाग तथा कोशी प्रदेशका उत्तरी भू-भागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशत देखि ४५ प्रतिशत रहेको छ।
यसैगरी मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको छ। यसैगरी अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ।
यस वर्षको मनसुन पुर्वानुमान आगामी १८ जेठदेखि १४ असोजसम्म अवधिको हो। “यो पूर्वानुमान औसत हो, नेपालको पुर्वी भेग हुदै मनसुन प्रवेश भएपछि मात्रै यकिन मिति थाहा हुन्छ,” प्रवक्ता पोखरेल बताउँछिन्। सामान्यतयाः बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावले नेपालमा मनसुन हुने गर्छ। भारतको दक्षिणी केरला राज्यमा प्रवेश गरेको १० देखि १३ दिनभित्र अर्थात् जुन १३ (३० जेठ) मा नेपालमा पुर्वी भेग हुदै मनसुन भित्रिन्छ। भने औसत ११२ दिन पश्चिमबाट बारिरिन्छ। मनसुन अवधिको चार महिनामा वार्षिक वर्षको ८० प्रतिशत वर्षा हुन्छ ।
गत वर्षको मनसुन सरदर भन्दा १५ दिन अगावै १५ जेठमा प्रवेश गरेको थियो। भने सरदर भन्दा आठ दिन ढिला गरेर २४ असोजमा बाहिरिएको थियो। गतवर्षको १३५ दिनको मनसुन अवधि हालसम्मकै लामो अवधिको रह्यो।
जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ को मनसुनमा पनि सरदरभन्दा केही कम वर्षा भएको थियो। गतवर्ष मनसुन अवधिमा एक हजार ३७५.४ मिलिमिटर वर्षा भएको थियो, जुन सरदर एक हजार ४१४.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत हो।