काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

जुम्ला। सातौँ संस्करणको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फ धीर बुढा र महिलातर्फ कल्पना बुढाले उपाधि जितेका छन्। प्रतियोगितामा जुम्लादेखि मुगुको रारातालसम्म ५४ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका १ का बुढा पहिलो भए।

शनिबार भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमबहादुर हमाल दोस्रो र गोपाल तामाङ तेस्रो भएको कर्णाली स्पोटर्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए।

महिलातर्फ पातारासी गाउँपालिकाकी कल्पना बुढा पहिलो भइन्। सुनसरी रोकाया दोस्रो र सन्ध्या बुढा तेस्रो भए।

पहिलो हुने धावकलाई एक लाख, दोस्रो हुनेलाई ७५ हजार, तेस्रोलाई ५० हजार, चौथो र पाँचौँलाई समान २०-२० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र मेडल प्रदान गरिने क्लबले जनाएको छ।

प्रतियोगिताले कर्णालीको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना तथा स्थानीय खेल प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वैशाखमा आयोजना गर्दै आएको अध्यक्ष शाहीले बताए।

त्यसैगरी १० किलोमिटर दौडको पुरुषतर्फ वसन्त बुढा पहिलो, नवीन परियार दोस्रो र राज भण्डारी तेस्रो भए। महिलातर्फ भने सपना बुढा पहिलो, सस्मिता भण्डारी दोस्रो र गौकली रावत तेस्रो भए।

पाँच किलोमिटरको विद्यार्थीतर्फ निर्भु राना पहिलो, नरेश रावत दोस्रो र नमराज महतारा तेस्रो भए। महिलातर्फ भने कृतिना बुढा पहिलो, यमुना बुढा दोस्रो र खुसी बुढाथोकी मगर तेस्रो भए।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी ५१ धावकले ५४ किमि दौडमा सहभागिता जनाएका थिए। पाँच र १० किलोमिटरको दौडमा करिब ११ सय खेलाडी सहभागी भएको क्लबले जनाएको छ।

पाँच र १० किलोमिटतर्फका विजेता खेलाडीलाई प्रमाणपत्र र पदक प्रदान गरियो। ५४ किमिको जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताका विजेता धावकलाई आइतबार राराताल परिसरमा आयोजना हुने कार्यक्रममा पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए।