काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

२६ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। सञ्जय श्रेष्ठ र पूर्णलक्ष्मी न्यौपाने नेपाल ५ के रन च्यालेन्जको खुलातर्फको स्पर्धामा पहिलो भएका छन्। सञ्जय पुरुष तथा पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन्।

एथलेटिक्स परिवार नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको दौडमा सञ्जयले निर्धारित ५ किलोमिटर दूरी १४ मिनेट ३४.७४ सेकेन्डमा पूरा गरे।

मुकेशबहादुर पाल (१४ मिनेट ३४.८१ सेकेन्ड) दोस्रो तथा गजेन्द्र राई (१४ मिनेट ५३.९१ सेकेन्ड) तेस्रो भए।

महिलाको पाँच किलोमिटर दूरी पूर्णलक्ष्मीले १७ मिनेट ९५ सेकेन्डमा तय गरिन्। निशा कार्की (१८ मिनेट १२.५५ सेकेन्ड) दोस्रो तथा सम्झना कुलुङ (१८ मिनेट ५४.६३ सेकेन्ड) तेस्रो बने। पुरुष/महिला दुवैमा शीर्ष तीन स्थानमा रहने खेलाडी नेपाल आर्मीका हुन्।

यू-१८ ब्वाइज ३ किलोमिटरमा सुशन लामिछाने पहिलो, राजकुमार गोले दोस्रो र शेरबहादुर शाही तेस्रो भए। सोही स्पर्धाको गर्ल्समा शर्मिला गोलेले स्वर्ण, सुजिना राम्दामले रजत र प्रमिशा कार्कीले कास्य जिते।

भेट्रान ५ किलोमिटर पुरुषमा धर्म महर्जन, रेवतबहादुर दाहाल र भीमबहादुर गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे। भेट्रान ३ किलोमिटर महिलामा कल्पना डंगोल पहिलो, शारदा राई दोस्रो र नगिना महर्जन तेस्रो भए। सबै ६ स्पर्धामा शीर्ष १० स्थानमा रहनेलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

विजेतालाई चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्री, चाँगुनारायण नगरपालिका नगर खेलकुद संयोजक रघु केसीलगायतले पुरस्कृत गरे। दौडमा २५० प्रतिस्पर्धीले सहभागिता जनाएको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाए।

दौड चाँगुनारायण नगरपालिका भवन परिसरबाट सुरु भई भद्रकाली मोड, घट्टाडिल चोक, घट्टे खोला, पगरी टोल, कुशलटार चोक, सुविधानगर सडक हुँदै पुनः नगरपालिका भवनमा आएर टुंगिएको थियो।

नेपाल रनको यो पहिलो चरण हो। पाँच किलोमिटर खुलातर्फ महिला तथा पुरुष दौडमा शीर्ष १५ स्थानमा रहने खेलाडीलाई क्रमशः १५ देखि १ अंक प्रदान गरिनेछ।

यो दौड दुई महिनाको अन्तरालमा तीन चरणमा हुनेछ। बाँकी दुई चरणको दौडमा पनि पहिलो चरणसरह नै अंक प्रदान गरिनेछ। तेस्रो चरणको समाप्तिपछि ग्रान्ड प्रतियोगिता हुनेछ। ग्रान्ड प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ।