काठमाडौँ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय सभाको २१औँ अधिवेशन शुभारम्भका अवसरमा सोमबार सभामा उनले दलीय स्वार्थभन्दा माथि उठेर राष्ट्रको आवश्यकता र राष्ट्रिय हितलाई प्राथमिकतामा राखी छलफलमा सहभागी हुन आग्रह गरे।
“यो २१औँ अधिवेशन बजेट अधिवेशनका रूपमा रहेको छ। यसमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुनेछ‚” उनले भने‚ “संघीय निजामती सेवा, विद्यालय शिक्षा, नेपाल प्रहरीलगायत विधेयकलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ।”
विगतमा विधेयकको निरन्तरता कायम गर्न नसक्दा मुलुकका तत्कालीन आवश्यकता सम्बोधन गर्ने महत्त्वपूर्ण विधेयक निष्क्रिय हुन पुगेको सन्दर्भ उल्लेख गर्दै उनले तालिकाबद्ध बैठक सञ्चालन, समयमै विधेयक दर्ता, समितिको सक्रियता र सरकारको सहयोगले मात्र संसद्को कार्यक्षमता बढ्ने बताए।
अध्यक्ष दाहालले यसै अधिवेशनबाट संसद् बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुआत गरिएको पनि जानकारी दिए।