काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै संयोजक दाहालले लामो क्रान्तिको उपलब्धिमाथि गर्व गर्ने तर केही व्यक्तिहरू त्यही क्रान्तिलाई आपराधीकरण गर्ने प्रयत्न गरेकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले भने, “मैले तपाईँहरूलाई गणतन्त्रका फूल भनेको थिएँ। शान्ति प्रक्रियाको पूर्णता अब मेरोभन्दा पनि तपाईँहरूको जिम्मेवारी हो।”
नयाँ संसद्लाई आफूले क्रान्तिकै निरन्तरता ठानेको उल्लेख गर्दै संयोजक दाहालले भने, “वालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै सङ्कल्पको जीत हो।” पुराना पार्टीहरू सबै खराब हुन् भन्ने भाष्य गलत भएको बताउँदै संयोजक दाहालले भने, “पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् भन्ने। त्यसमा प्रचण्डलाई पनि घिसार्न खोजिन्छ। त्यही हो त सत्य? होइन।”
पुराना र नयाँको भाष्य दार्शनिक, राजनीतिक र समाजशास्त्रीय दृष्टिले गलत भएको उनको भनाइ छ।