मृत्यु भएका प्रतिवादीको श्रीमतीबाट झन्डै तीन करोड बिगो असुलउपर गर्न अख्तियारको माग
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य-सचिवहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका नगर विकास समितिका तत्कालीन तीनजना सदस्य-सचिव र दुईजना लेखापाल गरी पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
समितिअन्तर्गतका सटर र जग्गा भाडाबापतको राजस्व रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको दाबीसहित अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। उपत्यका नगर विकास समितिका सदस्य-सचिव एवं वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू टीकाराम ढकाल, नरहरि तिवारी, गेहेन्द्रबहादुर डाँगीलाई कैद सजाय र बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। यस्तै लेखा अधिकृत हरिबहादुर क्षेत्री र सह-लेखापाल खड्कबहादुर रानाविरुद्ध पनि कैद सजाय र बिगो दाबीसहित मुद्दा दायर गरिएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनीहरूबीच मिलेमतो तथा योजनामा आव ०७६/७७, ०७७/७८, ०७८/७९, ०७९/८० र ०८०/८१ को भाडा असुली रसिदबाट जम्मा चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ राजस्व आम्दानी समितिको खातामा जम्मा गर्ने विषयमा बदनियत भएको अख्तियारको दाबी छ।
उक्त रकम समितिको खातामा दाखिला नगरी राजस्व रकममध्ये एक करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्रै बैंक दाखिला गरेको र बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंक दाखिला नगरी हिनामिना गरेको आरोप छ। बैंक दाखिला नगरी मिलेमतोमा रकम हिनामिना गरिएको कसुरबाट बच्न उनीहरूले बदनियत साथ ‘उक्त रकम बैंक दाखिला भएको’ देखिने गलत विवरणसहितको आयव्ययय तयार गराएर अनुमोदनका लागि समितिमा पठाएर निर्णय गराएको दाबी अख्तियारको छ।
समितिका सदस्य-सचिव तथा लेखापालहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ (ग) बमोजिम कसुर गरेको अख्तियारको ठहर छ।
अख्तियारले उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य-सचिव टीकाराम ढकालबाट ६४ लाख २८ हजार ४३७ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। तत्कालीन अर्का सदस्य-सचिव नरहरि तिवारीबाट एक करोड चार लाख ७१ हजार ९४२ रुपैयाँ र गेहेन्द्रबहादुर डाँगीबाट ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।
यो मुद्दामा आरोपित वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भइसकेको छ। उक्त कसुरमा अख्तियारले उनका श्रीमती सीमाकुमारी चन्द क्षेत्रीबाट दुई करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ बिगो असुल गर्न माग गरेको छ। प्रतिवादीको मृत्यु भइसकेको देखिएकाले फौजदारी न्यायको सिद्धान्तबमोजिम उनीविरुद्ध कैद सजाय मागदाबी लिनुपर्ने अवस्था नरहे पनि मुलुकी फौजदारी कार्यविधि, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, भ्रष्टाचार निवारण ऐनअनुसार मृत्यु भएका प्रतिवादीको हकमा समेत मुद्दा चलाउन, बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने व्यवस्था भएकाले हरिबहादुरका श्रीमती सीमाकुमारीबाट बिगो असुलउपर गर्न माग दाबी अख्तियारले गरेको छ।
यस्तै वीरेन्द्रनगर नगरपालिकाका तत्कालीन सहलेखापाल खड्कबहादुर रानाबाट दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बिगो असुल गर्न माग दाबी अख्तियारले गरेको छ।