पर्वतारोहण
शेर्पाहरूले डोरी टाँग्दै वर्षको पहिलो आरोहण गरेसँगै सगरमाथा चढ्ने बाटो खुला
३० बैशाखको बिहान डोरी टाँग्ने शेर्पाहरूको टोली चुचुरोमा पुगेसँगै यस वर्षको वसन्त ऋतुमा पहिलो पटक सगरमाथा आरोहण भएको छ। मिङतेम्बा शेर्पाको नेतृत्वमा १४ आरोहीले यस वर्षको पहिलो आरोहण गरेका हुन्। दक्षिणी मोहोडाबाट सगरमाथा पुग्ने उक्त टोलीमा मिङ्मा दोर्ची शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पाम दोर्जी शेर्पा, पासाङ तेन्जिङ शेर्पा, लोप्साङ भोटे, छोम्बा तेन्जी शेर्पा रहेका छन्। त्यसैगरी मिङ्मा नोर्बु शेर्पा, पासाङ ताशी शेर्पा, फर्नेन्जी शेर्पा, गुरु भोटे, पासाङ नोर्बु शेर्पा, टेन्डी शेर्पा र पासाङ निमा ङिमा शेर्पा आरोहण टोलीमा छन्।
पर्यटन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ बुधबार ३० वैशाख २०८३ मा (तद्नुसार १३ मे २०२६) बिहान १०ः२५ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कार्य सम्पन्न गरी बाटो खोल्न सफल भएको छ।’ समूहले भौगोलिक जटिलता, मौसमी विषमता तथा व्यवस्थापकीय जोखिमका बाबजुद सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण सफलतापूर्वक गरेको पर्यटन विभाग अन्तर्गतको अस्थायी फिल्ड कार्यालयका संयोजक खिमलाल गौतम बताउँछन्।
योसँगै यस वर्षको सगरमाथा आरोहणको बाटो खुला भएको छ। यस वर्ष ५५ देशका ४९२ जना पवर्तारोहीले विश्वको सर्वोच्च शिखर आरोहणको अनुमति पाएका छन्। जसमा १०५ जना महिला र ३८७ पुरूष छन्। सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा चुचुरोमा पुग्न सफल भएपछि सुरु भएको सगरमाथा आरोहणको इतिहासमा यस वर्ष सबैभन्दा बढी आरोहीले आरोहण अनुमति पाएका हुन्। यस वर्ष ५० वटा टोली आरोहणको तयारीमा छ। यसबापत सरकारले एक अर्ब आठ करोड रोयल्टी प्राप्त गरेको छ। यसपटक सबैभन्दा बढी चिनियाँ आरोहीले आरोहण अनुमति लिएका छन्। अनुमति पाउनेमा २३ महिला र ८३ पुरुष गरी १०९ जना चिनियाँ आरोही छन्।

अमेरिकाका ७६ जना आरोहीले सगरमाथा चढ्दैछन्, जसमा ९ महिला र ६७ छन्। भारतका २६ महिला र ३५ पुरूष गरी ६१ जना आरोही सगरमाथा आरोहणको तयारीमा छन्। खुम्बु आइसफलमा बाटो निर्माणमा कठिनाइ हुँदा यस वर्षको आरोहण अनिश्चित बन्न पुगेको थियो। पाँच हजार ४०० मिटरमा रहेको खुम्बु आइसफल सगरमाथा, ल्होत्से र नुप्त्से हिमालको बीचमा पर्छ। जोखिमका बाबजुद वर्षको पहिलो आरोहण सफल भएसँगै आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग निर्माण तथा खुला गर्ने कार्यमा संलग्न आइसफल डाक्टर तथा पथप्रदर्शकलाई विभागले धन्यवाद प्रकट गरेको छ।
आरोहणका क्रममा गयो ज्यान
यस वर्ष वसन्त ऋतुमा हिमाल चढ्न र चढाउन गएका पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये तीन जना गाइड र दुई जना आरोही हुन्। पर्यटन विभागका अनुसार मृत्यु हुने माउन्टेन गाइडमा सोलुखुम्बुका लाक्पा डेन्डी शेर्पा, विजय घिमिरे र फुरा गेल्जेन शेर्पा रहेका छन्। लाक्पाको आधार शिविरनजिकै, घिमिरेको खुम्बस आइसफल र फुराको ‘क्याम्प थ्री’मा मृत्यु भएको हो। त्यसैगरी मकालु हिमाल आरोहणको क्रममा रहेका चेक गणतन्त्रका डेभिड रौविकेन र अमेरिकाकी जोहानेस सेलीको निधन भएको छ। हिमपहिरो खस्दा उनीहरूको निधन भएको हो।