काठमाडौँ
००:००:००
२० जेष्ठ २०८३, बुधबार

फोटो कथा

अ+
अ-

काठमाडौँ। ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङ (पाथीभरा) मा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।

लिम्बु समुदाय र प्रकृतिप्रेमी अभियन्ताहरूले केबलकार निर्माणले मुक्कुमलुङको मुन्धुमी शक्तिपीठ र प्राकृतिक संवेदनशीलता नष्ट गर्ने भन्दै तत्काल निर्माण रोक्न माग गरे।

प्रदर्शनकारीहरूले ‘मुक्कुमलुङ बचाउ अभियान’ मार्फत आफ्ना मागहरू अघि सारेका छन्। उनीहरूले मुक्कुमलुङ लिम्बू जाति र किरात धर्मावलम्बीको पवित्र मुन्धुमी स्थल भएकाले यसको मौलिकता मास्न नहुने र केबलकार बनाउँदा हजारौँ रुख काटिने भएकाले स्थानीय जैविक विविधतामा असर पर्ने भन्दै चिन्ता व्यक्त जनाएका छन्।

प्रदर्शनकारीहरूले हातमा प्लेकार्ड र ब्यानर बोकेका छन्। उनीहरूले ‘हाम्रो मुक्कुमलुङ, हाम्रो पहिचान’, ‘केबलकार चाहिँदैन, मुक्कुमलुङ मास्न पाइँदैन’ जस्ता नाराहरू लेखिएका थिए। प्रदर्शनमा विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू, अधिकारकर्मीहरूको सहभागिता छ।

ताप्लेजुङमा केबलकार निर्माणको तयारी तीव्र पारिएसँगै काठमाडौँ र स्थानीय स्तरमा विरोधका स्वर बढ्दै गएका छन्। प्रदर्शनकारीहरूले माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।