काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

स्थानीय शासन, सहरी विकास र व्यवस्थापन तथा आपसी हितका विषयमा छलफल

३१ बैशाख २०८३
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीले शिष्टाचार भेट गरेकी छन् । काठमाडौँ प्लाजामा उनीहरूबीच बिहीबार भेट भएको हो।

भेटका क्रममा कार्यवाहक प्रमुख डंगोलले फोहरमैला व्यवस्थापन, सहरी स्वच्छता, सरसफाइ र नागरिकका दैनिक जीवनसँग जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताएकी थिइन्। डेपुटी एम्बास्डर बाकाभीले विगत पाँच वर्षमा काठमाडौँको सौन्दर्य र व्यवस्थापनमा सकारात्मक परिवर्तनको अनुभव सुनाएकी थिइन्।

आपसी हित, विकासका आयाम र नवप्रवर्तनका विषयमा कुरा गर्दै डंगोलले सार्वजनिक यातायातका साधनलाई यात्रुको पहिलो छनोट बनाउने कार्यक्रम सञ्चालन गरिरहेको बताइन्।

कुराकानीका क्रममा डेपुटी एम्बास्डर वाकाभीले सहरी विकास र व्यवस्थापनसँगै स्थानीय शासन, स्थानीय निर्वाचन प्रणाली, स्थानीय निर्वाचनमा महिला निर्वाचित हुने व्यवस्था, प्रमुख र उपप्रमुखका कानुनी दायित्वलगायत विषय जिज्ञासा राखेकी थिइन्। “तपाईं युवा हुनुहुन्छ । राजनीतिमा कसरी प्रेरित हुनुभयो?” वाकाभीको प्रश्न राखिन्। जवाफमा डंगोलले राजनीतिमा आउनुअघि आफू सामाजिक क्षेत्रमा सक्रिय रहेको बताउँदै सामाजिक क्षेत्रबाट एउटा मात्र क्षेत्रको सुधार गर्न सकिने तर राजनीतिमा गरिने एउटा नीतिगत निर्णयले धेरै व्यक्तिलाई एकै पटक लाभ दिन सकिने भएकाले राजनीतिमा आएको बताइन्।

भेटका अवसरमा दूतावासका पोलिटिकल फर्स्ट सेक्रेटरीद्वय अब्राहम टाम र जोस्हुआन लिम, सोसल सेक्रेटरी सोनिया, महानगरपालिकाको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख गंगाधर गौतम, कार्यवाहक प्रमुखको सचिवालयका अधिकृत सौरभ गौतमसहित अधिकारी सहभागी थिए।