बाल व्यवसायी केन्द्र माविमा लिफ्ट जडान‚ दृष्टिविहीन तथा ह्विलचेयर प्रयोगकर्ता विद्यार्थीको सबै कक्षा कोठामा पहुँच
काठमाडौँ। काठमाडौँ महानगरपालिका ७‚ सिफलमा रहेको बाल व्यवसायी केन्द्र माविमा लिफ्ट जडान गरिएको छ।
श्रवण-दृष्टिविहीन, सुस्तश्रवण, पूर्ण र अति अशक्त अपांगता भएका शारीरिक, दृष्टिविहीन, न्यून दृष्टियुक्त, अटिजम, बौद्धिक तथा बहुअपांगता भएका, स्वर बोलाइ र मनोसामाजिक अपांगता भएका बालबालिका अध्ययन गर्ने यो विद्यालयका सबै कक्षाकोठामा सबै विद्यार्थीको पहुँच पुर्याउन काठमाडौँ महानगरपालिकाले अनुदान रकम दिएर लिफ्ट जडान गरिदिएको हो।

विद्यालयमा लिफ्ट जडान भएपछि अभिभावक र विद्यार्थीमा खुसी भएका छन्। ह्विलचेयर प्रयोगकर्ता बालिकालाई लिफ्टमा राखेर प्रणाली सञ्चालनको शुभारम्भ गर्दै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सबै प्रकारका बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको संरक्षण गर्न काठमाडौँ महानगरपालिकाले अभिभावकत्व ग्रहण गर्ने बताइन्। “अहिले भएका विद्यालयहरूको भौतिक पूर्वाधारमा सुधार गर्ने, सिकाइलाई सूचना तथा सञ्चार प्रविधिमा आबद्ध गराउने, विशेष विद्यालय सञ्चालन गर्ने कार्यक्रममार्फत सबै बालबालिकामा शिक्षाको उज्यालो ज्योति प्रदान गर्नेछौँ‚” उनले भनिन्‚ “एक दृष्टिले हेर्दा लिफ्ट जडान गर्नु अति सामान्य काम जस्तो लाग्छ। तर, हामीले यसको लाभ कस्तो छ भन्ने कोणबाट हेरेका छौँ। सामान्य व्यक्तिका लागि लिफ्ट ठुलो सुविधा नहुन सक्छ। दृष्टिविहीन, ह्विलचेयर प्रयोगकर्ता बालबालिकाको आत्मसम्मान र आत्मविश्वाशमा ठुलो योगदान दिनेछ।” विद्यालयको एकीकृत र समग्र विकासका थप केही चाहिए योजना पठाउन पनि डंगोलले बताएकी थिइन्। साथै उनले विद्यालयलाई पछि पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
विद्यालयमा श्रवण-दृष्टिविहीन भएका १८ बालबालिका अध्ययन गर्छन्। पूर्ण र अति अशक्त अपांगता भएका, दृष्टिविहीन, अटिजम, बौद्धिक तथा बहुअपांगता भएका र ४२ जना सामान्य तथा मध्यम प्रकृतिका सुस्तश्रवण, न्यूनदृष्टियुक्त, स्वर बोलाइ र मनोसामाविजक अपांगता भएका बालबालिका अध्ययनरत छन्।

विद्यालयले सबै प्रकारका अपांगता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको प्रधानाध्यापक रामप्रसाद ढुंगानाले बताए। वडा ७ का अध्यक्ष विमलकुमार होडाले समावेशी शिक्षाका लागि महानगरपालिकासँग वडा कार्यालयले पनि विशेष लगानी गरिरहेको बताए।
प्रधानाध्यापक ढुंगानाका अनुसार २०२८ सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदीबन्दीका छोराछोरी र अपांगता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने उद्देश्यले यो विद्यालय स्थापना भएको हो।

नेपाल बाल संगठनभित्र आश्रय लिई बसेका असहाय बालबालिकाको परनिर्भरतालाई अन्त्य गरेर दीर्घकालीन रूपमा उनीहरूलाई स्वावलम्वी तथा आत्मनिर्भर बन्न व्यावसायिक सीप सिकाइने प्रमुख लक्ष्यका विद्यालय स्थापना भएको हो।
विकासमा विशेष शारीरिक, सामाजिक तथा मानसिक अवस्था भएका बालबालिकालाई विशेष विद्यालय सञ्चालन गरेर सवै बालबालिकालाई शिक्षामा पहुँच प्रदान गर्छौं : कार्यवाहक प्रमुख सुनीता डंगोल
अहिले विद्यालयमा ४२७ बालबालिका अध्ययनरत छन्। शैक्षिक सत्र २०५६ देखि अहिलेसम्म २६ ब्याच एसएलसी र एसईईमा १५ सय बढी विद्यार्थीलाई ग्रेडेड गराएको छ। शैक्षिक सत्र २०८० मा ९४ प्रतिशत, २०८१ मा शतप्रतिशत विद्यार्थी सफल भए। शैक्षिक सत्र २०८२ मा तीनजना विद्यार्थीले ३.६ देखि ३.९ जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

लिफ्ट उद्घाटनपछि कक्षाकोठाहरू, शिक्षण पद्धति, थेरापीका कक्षाहरू, बालबालिकाको सिकाइ अभ्यासको अवलोकन गरिएको थियो।
