नाइजेरिया। उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा सशस्त्र आतंकवादीहरूले दर्जनौँ स्कूले बच्चाहरूलाई अपहरण गरेको र हाल उनीहरूको अवस्था अज्ञात रहेको जनाइएको छ।
नाइजेरियाको मुसा गाउँको प्राथमिक विद्यालयबाट ३५ देखि ४३ जना विद्यार्थीहरू अपहरण गरिएको विद्यार्थीका अभिभावक तथा साे क्षेत्रका बासिन्दाहरूले अनुमान गरेका छन्। नाइजेरियाली सेनाले सहर छोडेको केही समयपछि यो घटना भएको उनीहरूले उल्लेख गरेका छन्।
सेनाले उक्त सहर छोडेको आधा घण्टाभन्दा कम समयमा मोटरसाइकलमा यस सहरमा आइपुगेका आतंककारीहरुले प्राथमिक विद्यालय र शिशु स्यारका बच्चाहरूको अपहरण गरेको साे क्षेत्रका बासिन्दाहरूले बताएका छन्।
अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको देश नाइजेरियाले विगत १७ वर्षदेखि सशस्त्र सङ्गठनहरूसँग लडिरहेको छ।
यी समूहहरूले बारम्बार अपहरण आक्रमण लगायतका आतंकवादी क्रियाकलापको माध्यामबाट स्थानीयवासीहरुलाई दुखः दिने गरेको जनाइएको छ।