काठमाडौँ। सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सहायक निरीक्षक निमडिक्की शेर्पाले सशस्त्र प्रहरी संगठनका तर्फबाट सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
सहायक हवल्दार कार्कीले आज (आइतबार) बिहान १० बजेर २० मिनेटमा र सहायक निरीक्षक शेर्पाले बिहान ११ बजेर ५५ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला राखे।
सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी हुन्। संगठनका महिला कर्मचारीका तर्फबाट भने यो पहिलो सफल आरोहण भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
इलामको सन्दकपुर गाउँपालिका माबुकी शेर्पा र राष्ट्रियस्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछापको गोकुलगंगा गाउँपालिका १, चुचुरेकी कार्कीले पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका थिए।
उनीहरूले यसअघि मनाङस्थित चुलु फार इस्ट हिमाल तथा लोबुचे हिमालको सफल आरोहण गरिसकेका छन्। यस सफलताले संगठनभित्र महिला सहभागिता, क्षमता र नेतृत्वलाई अझ प्रेरित तथा उत्साहित बनाउने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ।