नयाँदिल्ली। भारतमा पछिल्लो समय सामाजिक सञ्जालमा निकै चर्चामा रहेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को एक्स (पूर्वट्विटर) ह्यान्डल बन्द (ब्लक) गरिएको छ।
यो अभियानका सञ्चालक अभिजित दिपकेले आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत यसबारे जानकारी दिएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
यसैबीच वामपन्थी राजनीतिक दल ‘सीपीआईएमएल लिबरेसन’ भने ‘कक्रोच जनता पार्टी’को बचाउमा उत्रिएको छ। पार्टीले एक्समा एउटा पोस्ट गर्दै ह्यान्डल बन्द गरिएको भन्दै कडा आपत्ति जनाएको छ।
सीपीआईएमएलले एक्समा लेखेको छ, “के मोदी सरकारलाई लाग्छ कि कक्रोच जनता पार्टीको सामाजिक सञ्जाल ह्यान्डलहरू ब्लक गरेर उसले जेन-जीलाई रोक्न सक्छ?”
पार्टीले अगाडि प्रश्न गर्दै लेखेको छ, “यदि कक्रोच जनता पार्टी’ ले भाजपा (बीजेपी) र नरेन्द्र मोदीको ह्यान्डलहरू विरुद्ध अनफलो अभियान सुरु गरिदियो भने के होला? एक्सले इन्टरनेटको स्वतन्त्रताको सम्मान गर्नुपर्छ र कुनै पनि ढिलाइ नगरी कक्रोच जनता पार्टीको ह्यान्डल तुरुन्त कायम गर्नुपर्छ।”
किन सुरु भयो यो अभियान?
केही समयअघि भारतको सर्वोच्च अदालतका न्यायाधीश सूर्यकान्तले युवा र ककरोच (साङ्लो) लाई लिएर एउटा अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिको विरोध र व्यङ्ग्यका रूपमा सामाजिक सञ्जालमा ‘कक्रोच जनता पार्टी’ नामको अभियान सुरु गरिएको हो।
भारतमा यो अभियान युवामाझ निकै लोकप्रिय बनेको छ। एक्स ह्यान्डल बन्द गरिए पनि यसको इन्स्टाग्राम ह्यान्डलमा मात्रै एक करोड ५० लाखभन्दा बढी फलोअर्स छन्।
यो पनि…