जुम्ला। स्वास्थ्य बिमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दो क्रममा छ।
जिल्लास्थित स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजारजना नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन्।
सक्रिय बिमा सङ्ख्या ४४ हजार ४७९ जना छन्। करिब ५६ हजारले बिमाको नवीकरण नगरेको स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीले बताए। जिल्लाका १४ हजार ८८५ घरपरिवार बिमामा आबद्ध भएका छन्। ज्येष्ठ नागरिक तीन हजार ९२३, अति अशक्त अपांगता ९८ र महिला स्वास्थ्य स्वंयसेविका ३०६ जनाको परिवार स्वास्थ्य बिमामा आबद्ध भएको स्वास्थ्य बिमा सम्पर्क कार्यालयका दर्ता अधिकारी जोशीको भनाइ छ।
अति गरिब घरपरिवारका करिब १७ हजार ३१२ जनाले नवीकरण नगर्दा सङ्ख्या बढेको तथ्यांकले देखाएको छ। अति गरिब घरपरिवारको निःशुल्क बिमा नवीकरण गर्ने व्यवस्था सरकारले बन्द गरेपछि जिल्लामा नवीकरण नगर्नेको सङ्ख्या बढेको स्वास्थ्य बिमा बोर्ड कार्यालयका दर्ता अधिकारी जोशीले जानकारी दिए।
सरकारले अपाङ्गता भएका, अशक्त, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, ज्येष्ठ नागरिकलाई निःशुल्क बिमा गर्ने व्यवस्था गरेको छ। अन्यको हकमा शुल्क लिएर एक लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गर्ने गरिएको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ।
बिमाको जथाभावी प्रयोगले अहिले स्वास्थ्य बिमा बोर्डको केन्द्रीय कार्यालयले सहभुक्तानीको व्यवस्थासमेत गरेको छ। बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीलाई घरदैलोमै पठाएर नागरिकलाई बिमामा सहभागी गराउने अभियानमा रहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ।
नवीकरण घट्नुको मुख्य कारण सेवाको गुणस्तर तोकिएका अस्पतालमा औषधि सहज नपाइने र लामो लाइन बस्नुपर्ने बाध्यता, ढिलाइ र अस्पतालहरूले बिमित बिरामीको रकम भुक्तानी नपाएको गुनासोजस्ता कार्यले आमनागरिकलाई स्वास्थ्य बिमाप्रति जनविश्वास घटेको यहाँका स्थानीय बासिन्दा बताउँछन्। जिल्लामा २०७४ सालदेखि स्वास्थ्य बिमाको सेवा विस्तार भएको हो।