काठमाडौँ। काठमाडौँ उपत्यकामा पछिल्ला दिनमा तापक्रम लगातार बढ्दै गएको छ। गर्मीले जनजीवनसँगै पशुपक्षी पनि प्रभावित भएका छन्। चर्को गर्मीबाट बच्न विभिन्न जीवजन्तुले आ-आफ्नै उपाय अपनाइरहेका छन्।
यसैक्रममा स्वयम्भूनाथ स्तूप परिसरमा रोचक दृश्य देखिन थालेको छ। परिसरभित्र रहेको पोखरीमा त्यहाँका बाँदरहरू दैनिकजसो पौडी खेल्दै रमाइरहेका भेटिन्छन्।
अत्यधिक गर्मीबाट राहत पाउन बाँदरहरू पोखरीमा हाम फाल्ने, डुबुल्की मार्ने तथा पौडी खेल्ने गतिविधिमा व्यस्त देखिन्छन्। पानीमार्फत शरीर शीतल बनाउने र तिर्खा मेट्ने उनीहरूको प्रयास स्पष्ट रूपमा देखिन्छ।
बढ्दो तापक्रमसँगै स्वयम्भूका बाँदरहरूले पोखरीलाई शीतलता प्राप्त गर्ने माध्यम बनाएका छन्। उनीहरूको यस्तो गतिविधिले त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यानसमेत आकर्षित गरिरहेको छ।
