विराटनगर। विराटनगरमा जारी छैटौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा कोसी प्रदेश प्रहरी कार्यालय पुगेको छ।
विराटगर जुटमिल खेल मैदानमा बिहीबार सम्पन्न अन्तिम सेमिफाइनलमा घरेलु टोली लालीगुराँस फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पराजित गर्दै कोसी प्रदेश प्रहरी फाइनलमा प्रवेश गरेको हो।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन सकेन। खेल गोलरहित बराबरीमा टुंगिएपछि जितको छिनोफानो टाइब्रेकरबाट गरिएको थियो।
टाइब्रेकरमा पुलिसका सबिन राई, नितेश लिम्बू, हेम तामाङ र सन्जय चौधरीले गोल गरे भने रमेश राजवंशीको प्रहार बाहिरिएको थियो। उता लालीगुराँसका तर्फबाट आशिष लावती र पूजन थापाले मात्र गोल गर्न सफल भए। लालीगुराँसका कैलाश बस्नेतको प्रहार मार्गबाहिर जाँदा युवन राईको प्रहारलाई पुलिसका गोलकिपर सजिन चौधरीले उत्कृष्ट बचाउ गरे।
खेलमा निर्णायक बचाउ गरेका पुलिसका गोलकिपर चौधरी नै ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २१ सय रुपैयाँ पुरस्कार प्राप्त गरे। अब शनिबार हुने उपाधि भिडन्तमा पुलिसले अर्को घरेलु टोली टीडब्लूसीवाई विराटनगरको सामना गर्नेछ। प्रतियोगिताको विजेताले दुई लाख एक हजार १११ रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले एक लाख एक हजार १११ रुपैयाँमा पाउनेछ।