काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१५ जेष्ठ २०८३
राजेन्द्र लिङ्देन।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेन-जी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।

पार्टी स्थापना दिवसका अवसरमा पार्टी कार्यालय चाबहिलमा शुक्रबार आयोजित झन्डोत्तोलन कार्यक्रममा अध्यक्ष लिङ्देनले आयोगको प्रारम्भिक प्रतिवेदनले धेरै कुराको उजागर गरेको बताए। उनले यसलाई कार्यान्वयन गर्ने दिशातर्फ सरकार अग्रसर हुनुपर्नेमा जोड दिए।

अभूतपूर्व जनमत प्राप्त गरेर वर्तमान सरकार गठन भएको भन्दै उनले जनताको आशा र विश्वासमा कुठाराघात हुने खालको काम सरकारले गर्न नहुनेमा जोड दिए। यसअघि एकल बहुमत प्राप्त गरेको दलले पाँच वर्ष सरकार चलाइएको इतिहास नरहेकाले विगतको राजनीतिक दलहरूले गरेका कमी-कमजोरी दोहोर्‍याउने सुविधा अहिलेको ठूलो दललाई नरहेको उनको भनाइ छ।

उनले होसियारीपूर्वक जनताको विश्वासलाई साकार पार्ने काममा अगाडि बढ्न सरकारलाई शुभकामना पनि दिए।

अध्यक्ष लिङ्दनेले गणतन्त्रको करिब दुई दशकमा के पायौँ र के गुमायौँ भन्ने समीक्षा गर्ने बेला आएको धारणा राखे। गणतन्त्रपछि मुलुकमा अर्थतन्त्र मजबुत हुन नसकेको र सुशासन कायम हुन नसकाले देशले जित्ने एउटा नवीन समझदारी गर्न जरुरी भइसकेको उनले बताए।