बजेट
नेपाललाई एआई युगमा प्रवेश गराउने सरकारको घोषणा
काठमाडौँ। सरकारले नेपाललाई कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स-एआई) को युगमा प्रवेश गराउने महत्त्वाकांक्षी योजना अघि सारेको छ।
आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले देशकै पहिलो ‘सार्वभौम एआई कम्प्युट केन्द्र’ स्थापना गर्ने घोषणा गर्दै एआई पूर्वाधार, जनशक्ति विकास र डिजिटल अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेको हो।
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज (शुक्रबार) संसद्मा प्रस्तुत गरेको बजेट वक्तव्यअनुसार काठमाडौँको स्युचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गरिनेछ। यस केन्द्रमार्फत हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी, अनुसन्धानकर्ता तथा स्टार्टअप कम्पनीहरूलाई सहुलियतपूर्ण दरमा कम्प्युटिङ क्षमता उपलब्ध गराइने सरकारको योजना छ।
सरकारले नेपालमा उत्पादित स्वच्छ जलविद्युत् ऊर्जालाई उच्च मूल्यको डिजिटल सेवामा रूपान्तरण गर्ने अवधारणालाई पनि प्राथमिकताका साथ अघि सारेको छ। बजेट वक्तव्यमा जलविद्युत् ऊर्जालाई एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव प्रस्तुत गर्दै ऊर्जा उत्पादनलाई केवल विद्युत् बिक्रीमा सीमित नराखी डिजिटल अर्थतन्त्रसँग जोड्ने संकेत गरिएको छ।
सरकारले एआई क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेका नेपाली प्रतिभालाई स्वदेश फर्काउने प्रयास पनि थालेको छ। आगामी आवमा कम्तीमा १५ जना अन्तर्राष्ट्रिय ख्याति प्राप्त नेपाली एआई शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपालमा अनुसन्धान, नवप्रवर्तन र नीति निर्माणमा योगदान गर्न आमन्त्रण गरिने बजेटमा उल्लेख छ।
एआई केन्द्रित आर्थिक रूपान्तरणका लागि आवश्यक मानवपुँजी विकासमा पनि सरकारले जोड दिएको छ। विशेषगरी गणितलगायत एआई विकासका लागि आधारभूत मानिने शैक्षिक विषयलाई उच्च प्राथमिकता दिने घोषणा गरिएको छ। यसलाई विद्यालय तथा उच्च शिक्षामा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई थप मजबुत बनाउने संकेतका रूपमा हेरिएको छ।