काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

१९ जेष्ठ २०८३
अ+
अ-

जनकपुर। मधेस प्रदेश सभामा विपक्षी दलको अवरोधका कारण बैठक अवरुद्ध बनेको छ।

प्रदेश सभा बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकारले छलेर जनलोकपाल आयोग र लोकसेवा आयोगमा सदस्य नियुक्ति गरेको भन्दै विरोध गरेका थिए।

जनलोकपाल र लोकसेवा आयोगको सदस्यको नियुक्ति खारेजसँगै मुख्यमन्त्रीले माफी नमागेसम्म बैठक चल्न नदिने भन्दै प्रतिपक्षी दलहरूले अवरोध गरे। जसपा नेपालका प्रदेश सभा सदस्य सञ्जयकुमार यादवले सरकारले प्रदेशका गरिमालाई गिराएको भन्दै सरकार नै अल्पमतमा रहेको  दाबी गरे। उनले भने‚ “जसरी दुई आयोगमा सदस्य नियुक्ति गरिएको छ त्यसले प्रदेश र संघीयतालाई नै मिच्ने काम भएको छ।”

उनले प्रदेशको गरिमा जोगाउन आफूहरू संघर्षरत रहेको र संघीयता कसैको कृपाबाट नआएको बताए। उनले नेपाली कांग्रेस नेतृत्वको कृष्णप्रसाद यादव सरकारले संघीयतालाई बदनाम गर्ने गरी काम गरिरहेको आरोप पनि लगाए। साथै उनले रकमान्तरणका नाममा जथाभावी रकम छर्ने काम भएको पनि दाबी गरे।