काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति बनाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो।
गठित समितिको संयोजकमा सहकुलपति एवं मन्त्री पोखरेल छन्। सदस्यमा रेशु अर्याल ढुंगाना र प्राध्यापक सुरेशराज शर्मा छन्। ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य छन्। शर्मा काठमाडौँ विश्वविद्यालय संरक्षण समिति अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति हुन्।
समितिले उपकुलपति पदका लागि योग्य उम्मेदवारको छनोट गरी सिफारिस गर्नेछ। यससँगै विश्वविद्यालयमा नयाँ नेतृत्व चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ।
केयूले शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ। नयाँ उपकुलपति नियुक्तिसँगै विश्वविद्यालयको भावी शैक्षिक तथा संस्थागत विकासको दिशाबारे थप अपेक्षा गरिएको छ।