काठमाडौँ। वैदेशिक रोजगारीको लागि सेसेल्स पठाइदिने लोभ देखाई ठगी गरेको आरोप लागेका दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका २ का ३८ वर्षीय तीर्थमान भोलन र नुवाकोट शिवपुरी गाउँपालिका २ का ३९ वर्षीय गोवर्द्धन नेपाली छन्।
दुवैलाई काठमाडौँ महानगरपालिका ६‚ बौद्धबाट सोमबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। भोलन र नेपालीले ४१ जनाबाट एक करोड ४१ लाख ५१ हजार रुपैयाँ संकलन गरेका थिए।
रकम संकलन गरी लामो समय फरार भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए। खोजीको सिलसिलामा दुवैलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका प्रवक्ता शरतकुमार थापा क्षेत्रीले बताए।