काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

२१ जेष्ठ २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। पछिल्लो चौबीस घण्टामा देशका विभिन्न स्थानमा आठवटा सवारीसाधन दुर्घटनामा परेका छन्। यी आठ दुर्घटनामा ११ जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार दुर्घटनामा १२७ जना घाइते भएका छन्। जसअनुसार बर्दियाको ठाकुरबाबा नगरपालिका ३‚ नौलापुरमा मोटरसाइकल अनियन्त्रित भई सडकछेउको विद्युत् पोलमा ठोक्किँदा ३३ वर्षीय रामु योगीको मृत्यु भएको छ। प्रदेश-३-०२-०१९प ७९८१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सख्त घाइते भएका उनको उपचारको क्रममा नेपालगन्जस्थित अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

धादिङको नीलकण्ठ नगरपालिका १०‚ तारेश्वरीमा बागमती-बीएएफ ०२२३ नम्बरको गाडी सडकबाट करिब १५० मिटर तल खस्दा सख्त घाइते भएका ५३ वर्षीय नुछेबहादुर कोजूको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।

पर्वतको कुश्मा नगरपालिका २‚ अर्मादीस्थित पोखरा-बागलुङ सडकखण्डमा ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ४० वर्षीय हीरा गर्बुजा र पछाडि बसेका ३५ वर्षीय सुर्जन भण्डारीको मृत्यु भएको छ। बुधबार अपराह्न ग.१क २९२९ नम्बरको ट्रक र ध.२प ३८०५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

काठमाडौँको तारकेश्वर नगरपालिका १‚ फुटुङमा ट्याक्सीले ठक्कर दिँदा सख्त घाइते भएका चार वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा तारकेश्वर नगरपालिका ९‚ मनमैजुका स्पर्श बानियाँ केसी छन्। प्रदेश-०१-००२ज ७९३३ नम्बरको ट्याक्सीले बालकलाई बुधबार अपराह्न ठक्कर दिएको थियो। उनको इशान बाल अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाँकेको राप्तीसोनारी गाउँपालिका १ मा एलपी ग्यास बोकेको ट्यांकर अनियन्त्रित भई पल्टिँदा चालक ४४ वर्षीय देवेन्द्र पालको मृत्यु भएको छ। यूपी७८एचटी ५३०५ नम्बरको ट्यांकर पल्टिँदा सख्त घाइते भएका उत्तर प्रदेश सेर्सा फ्रा माथुराका पालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

झापाको मेचीनगर नगरपालिका ७ मा स्कुल बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा चढेका ३२ वर्षीय अजय माझी र २१ वर्षीय अजय राजवंशीको मृत्यु भएको छ। मेचीनगर ७‚ सञ्जय सिमेन्ट फ्याक्ट्रीअगाडि बुधबार साँझ मे.१क ३९१ नम्बरको स्कुल बस र मे.९प ९९०४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। दुवैको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको थियो।

इन्फो : नेपाल प्रहरी

भक्तपुरको चाँगुनारायण नगरपालिका ८ मा कलामसीमा ना.५त २८४७ नम्बरको ट्याक्टर बुधबार राति पल्टिँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली भीमान नगरपालिका १० घर भई काठमाडौँ सिनामंगल बस्ने २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुर दिङ्ला नगरपालिका २ घर भई सिनामंगल बस्ने ३२ वर्षीय विजय राई छन्। उनीहरूको दूधपाटी अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिका ७ मा ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा बुधबार राति सोही ठाउँकी ३६ वर्षीया हरिकला वलीको मृत्यु भएको छ। प्र.२०-०३-००१ख ३९१६ नम्बरको ट्रकले ठक्कर दिँदा सख्त घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।