काठमाडौं । दक्षिण एसियाली क्षेत्रको मौसम र कृषि प्रणालीका लागि महत्वपूर्ण मानिने दक्षिण–पश्चिम मनसुन भारतको मुख्य भूमि केरला आइपुगेको छ। भारत मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार सामान्य तालिकाभन्दा केही दिन ढिलो गरी जुन ४ मा मनसुनले केरला प्रवेश गरेको हो।
केरला तथा आसपासका क्षेत्रमा अनुकूल वायुमण्डलीय अवस्था र वर्षाको गतिविधि बढेसँगै मनसुन सक्रिय भएको घोषणा गरिएको छ। मनसुन भित्रिएसँगै केरला र तटीय क्षेत्रमा भारी वर्षा सुरु भएको छ भने आगामी दिनमा यो प्रणाली उत्तर तथा पूर्वतर्फ विस्तार हुँदै जाने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार भारतको केरला पुगेको मनसुन अब करिब ९ देखि १२ दिनभित्र नेपाल आइपुग्न सक्छ। नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ भए पनि यस वर्ष केरला प्रवेशमै केही ढिलाइ भएकाले नेपालमा पनि मनसुन केही ढिलो गरी भित्रिने संकेत देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले प्रारम्भिक अनुमानअनुसार मनसुन जुन १५ देखि १७ को बीचमा नेपालको पूर्वी सीमाक्षेत्रमा प्रवेश गर्न सक्ने जनाएको छ। बङ्गालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र वायुदाबको अवस्थाले मनसुनको गति निर्धारण गर्ने मौसमविद्हरू बताउँछन्।
नेपाल प्रवेश गरेपछि मनसुन सामान्यतः कोशी प्रदेशबाट देशभित्र फैलिँदै पश्चिमतर्फ अघि बढ्ने गर्दछ। पूर्वी क्षेत्रबाट सुरु भएको मनसुनी प्रणाली सुदूरपश्चिमसम्म फैलिन थप ५ देखि ७ दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस वर्ष प्रशान्त महासागरमा एल निनोको प्रभाव देखिन सक्ने भएकाले समग्र मनसुनी वर्षा औसतभन्दा केही कम हुन सक्ने आकलन गरिएको छ। तर मनसुनको सुरुआती चरणमा पूर्वी र मध्य नेपालमा पर्याप्त वर्षा हुने सम्भावना रहेकाले कृषि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूलाई आवश्यक तयारी गर्न सुझाव दिइएको छ।