२३ जेष्ठ २०८३
अ+
अ-

हिमाल एसोसिएसनले ‘मानक नेपाली शब्दकोश : किन र कस्तो’ विषयमा शनिबार छलफल आयोजना गर्‍यो। नक्सालस्थित होटल अरण्यमा आयोजित कार्यक्रममा वक्ताहरू लेखक तथा अध्येता भिक्टर प्रधान र प्रा. भिम नारायण रेग्मीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।

नेपाली भाषामा मानक शब्दकोश एकाध मात्र रहेको जानकारी दिँदै अध्येता प्रधानले राज्यले संरक्षण गरेको नेपाल प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा नेपाली बृहत् शब्दकोश आधिकारिक वा मानक बन्न नसक्नु दुर्भाग्य रहेको बताए। उक्त शब्दकोशलाई मानक बनाउन हालसम्मका शब्दकोशहरूका अर्थलेखनमा रहेका गल्ती वा त्रुटिहरूको गहिरो अध्ययन गरी सुधारको खाँचो औँल्याए।

त्यस्तै, एउटै अर्थ लाग्ने शब्दका फरक फरक प्रविष्टि हुनु र कथ्य तथा लेख्य रूप उल्लेख नगरिनाले शब्दकोश प्रयोगकर्ता अलमलमा परेको उनको भनाइ थियो। शब्दहरूको प्रयोगमा आउने जटिलता र तिनको सही अर्थ बुझाउन वाक्यमा प्रयोग र उदाहरणहरू (उद्धरण) समावेश गर्नुपर्ने प्रधानको सुझाव थियो। साथै, उक्त कार्यमा राज्यले ठूलो लगानी गर्नुपर्नेमा उनले जोड दिए।

अर्का वक्ता भिम नारायण रेग्मीले प्रज्ञा बृहत् नेपाली शब्दकोशमा मानक नेपालीमा नभएका वर्ण थपिएको र तिनको अनुकूलन गर्दा समस्या भएको बताए। त्यसैगरी, शब्दको स्रोत, शब्दको बनोट वा व्युत्पादन, शब्दवर्गको सूचनामा अलमल तथा त्रुटि भएको जानकारी दिए। त्यस्तै, कहीँ कहीँ त शीर्ष शब्द मात्र होइन, अर्थलेखन पनि संस्कृतमै रहेको र कतिपय शब्दको अर्थ राम्ररी नखुलेको वा अर्कै अर्थ दिइएको समेत उनको भनाइ थियो।

उनले शब्दकोशको आकार बढाउनकै लागि जथाभाबी शब्द थुपार्न नहुने सुझावसमेत दिए। उक्त शब्दकोशलाई यही स्वरूपमा मानक मान्न नसकिने हुनाले यसको सुधार र गम्भीर सम्पादनका लागि सरोकारवाला सबै लाग्नुपर्ने उनको धारणा थियो।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष वसन्त थापाले नेपाली भाषाको संवर्धनका लागि विगतमा एसोसिएसनले सभा, सेमिनार, गोष्ठी र कार्यशाला जस्ता विभिन्न कार्यक्रम आयोजना गर्दै आएकामा मानक शब्दकोशसम्बन्धी छलफल त्यसैको एक कडी भएको उल्लेख गरे। मिडियाकर्मी तथा लेखकहरूको उपस्थिति रहेको कार्यक्रम शब्दकोशमा देखिएका समस्याको समाधान पहिल्याउने एक पाइला बन्ने उनको विश्वास थियो।