२३ जेष्ठ २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने र व्यक्तिगत योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टीको हितविपरीत हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टी स्थापना भएको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन्। उनले यस्ता सोच र व्यवहारलाई समयमै सच्याउन आवश्यक रहेको बताएका छन्।

रास्वपा आगामी असार दोस्रो सातामा केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको छ। त्यसअघि पार्टीले वडा, पालिका र जिल्ला तहका अधिवेशनहरू सञ्चालन गरिरहेको छ।

लामिछानेले प्रारम्भिक चरणमा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी आधार मानेर पदको अपेक्षा राख्नु उचित नहुने बताएका छन्। उनले विशेषगरी मधेशसहित केही जिल्लामा देखिएका विवादप्रति संकेत गर्दै नेतृत्वका लागि अनावश्यक प्रतिस्पर्धा र मरिहत्ते गर्ने प्रवृत्ति लोकतान्त्रिक प्रक्रियामार्फत न्यूनीकरण गर्नुपर्ने बताए।

उनले पार्टीको वर्तमान उपलब्धि कुनै एक वा केही व्यक्तिको योगदानले मात्र सम्भव नभएको उल्लेख गर्दै मतदाताको विश्वास र पार्टी सदस्यहरूको समर्पण नै मुख्य आधार रहेको बताए। पुराना सदस्यहरूले निर्माण गरेको आधारमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले पार्टीलाई वर्तमान अवस्थासम्म पुर्‍याएको उनको भनाइ छ।

महाधिवेशनलाई उनले नेतृत्व चयनको प्रक्रिया मात्र नभई पार्टीको दीर्घकालीन जीवन, विधि–पद्धति र स्वस्थ राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्। सक्षम, इमानदार र जनमैत्री नेतृत्व चयनका लागि संवाद, सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

लामिछानेले विचारसँगै राजनीतिक शैली, व्यवहार र संस्कार पनि परिष्कृत हुनुपर्नेमा जोड दिँदै पुरानै सोच र प्रवृत्ति बोकेर नयाँ राजनीतिक शक्ति बन्न नसकिने चेतावनी दिएका छन्। उनका अनुसार अब रास्वपाको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने नभई मुलुकको नेतृत्व गर्न सक्ने सक्षम राजनीतिक शक्ति बन्नु हो।

पार्टी विस्तारसँगै ‘म’ केन्द्रित सोच त्यागेर ‘हामी’ केन्द्रित संस्कार विकास गर्नुपर्ने उल्लेख गर्दै उनले संगठन ठूलो हुँदा सबैको भूमिका अझ अर्थपूर्ण हुने बताएका छन्।