काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपालमा पछिल्ला वर्षहरूमा साहित्य महोत्सवको संख्या उल्लेख्य रूपमा बढ्दो छ।

काठमाडौंसहित अन्य ठूला सहरमा मात्र होइन, स्थानीय स्तरकै पहलमा समेत महोत्सव आयोजना हुँदै आएका छन्। केही महोत्सव निरन्तर सञ्चालन भइरहँदा कतिपय भने रोकिएका पनि छन्। यस्ता महोत्सवका मुख्य चुनौती के-के होलान्?

‘काठमाडौं कलिङ साहित्य महोत्सव (केएलएफ)’ को चौथो संस्करणमा शनिबार ‘महोत्सवका चुनौतीहरू’ शीर्षकमा बहस भयो। वक्ताका रूपमा सहभागी टीकापुर साहित्य महोत्सवका निर्देशक महेशविक्रम शाहले साहित्य महोत्सव सञ्चालनको सबभन्दा ठूलो चुनौती आर्थिक स्रोत व्यवस्थापन रहेको बताए। उनले साहित्य महोत्सव अझै लगानीकर्तालाई प्रतिफल दिने स्थापित ब्रान्ड बन्न नसकेकाले स्रोत जुटाउन कठिन भइरहेको धारणा राखे।

“महोत्सवहरूको सबैभन्दा ठूलो समस्या नै आर्थिक स्रोतको व्यवस्थापन हो। जब आर्थिक स्रोत व्यवस्थापन हुन्छ। महोत्सव गर्न सजिलो हुन्छ,” उनले भने, “महोत्सव कुन स्तरमा गर्ने, कति प्रभावकारी बनाउने र प्रचारलाई कुन हदसम्म लैजाने भन्ने सबै कुरा आर्थिक स्रोतसँग जोडिएको हुन्छ।” उनले राजधानीबाहिर साहित्यिक गतिविधि विस्तार गर्नु आवश्यक भए पनि त्यसमा थप चुनौती रहेको बताए। सुदूरपश्चिमजस्तो क्षेत्रमा कार्यक्रम आयोजना गर्दा भौगोलिक दूरीकै कारण खर्च थप बढ्ने गरेको उनको अनुभव छ।

दर्शक सहभागिताको प्रसंग जोड्दै उनले औद्योगिक महोत्सव र साहित्यिक महोत्सवबीचको अन्तर पनि औँल्याए। “औद्योगिक महोत्सवमा यहाँबाट एकजना कलाकार जाँदा तीन-चार हजार मान्छे जम्मा हुन्छन्। हामीले ठूलो लगानी गरेर साहित्य महोत्सव गर्दा एक-दुई सय मान्छे जम्मा गर्न पनि गाह्रो हुन्छ,” उनले भने।

तर दर्शक उपस्थितिको विषयमा अर्का वक्ता कर्णाली उत्सव (कुडा कर्नालीका) का निर्देशक दिनेश गौतमको अनुभव केही फरक छ। उनका अनुसार निरन्तरता र महोत्सव नोटिसेबल बनेपछि दर्शक आफैँ तातिने उनी बताउँछन्। २०७६ सालमा सुरु भएको कर्णाली उत्सवको उद्देश्य नै कर्णालीमै बसेर राष्ट्रिय मुद्दामा बहस गर्ने र कर्णालीका विषयलाई राष्ट्रिय विमर्शमा ल्याउने रहेको उनले बताए।

“हामीले कर्णाली उत्सवलाई साहित्य महोत्सव भनेनौँ, नीति महोत्सवका रूपमा सुरु गरेका हौँ। कर्णालीका मुद्दामा राष्ट्रिय स्तरको बहस होस् र कर्णालीका मानिसले आफ्ना कुरा भन्न र सुन्न पाऊन् भन्ने उद्देश्य थियो,” गौतमले भने। उनका अनुसार सुरुआती वर्षमा प्रचारमा खर्च गर्नुपरे पनि पछिल्ला दुई वर्षमा त्यस्तो आवश्यकता नपरेको बताए। “पहिले प्रचारमा राम्रै खर्च गर्नुपर्थ्यो। पछिल्ला दुई वर्षमा हामीले प्रचारमा एक रुपैयाँ पनि खर्च गरेका छैनौँ। कार्यक्रम नोटिसेबल भयो भने मानिसलाई बोलाउन धेरै प्रचार गरिरहनुपर्दैन,” उनले भने। यद्यपि महोत्सवहरूका लागि अर्को ठूलो चुनौती नयाँपन कायम राख्नु भएको गौतमको भनाइ छ। उनका अनुसार हरेक संस्करणमा नयाँ विषय, नयाँ ढाँचा र नयाँ अनुभव दिन नसकिए महोत्सवप्रतिको आकर्षण विस्तारै घट्दै जान सक्छ।

आर्थिक चुनौती र महोत्सवको दिगोपनबारेको प्रश्नमा लेखक तथा पत्रकार योगेश ढकालले राज्य र निजी क्षेत्रको भूमिकालाई मुख्य रूपमा औँल्याए। उनकाअनुसार संसारभर यस्ता महोत्सवलाई ‘सफ्ट पावर’का रूपमा हेरिन्छ र राज्यले त्यसमा लगानी गर्ने अभ्यास छ। “यो केवल साहित्यिक कार्यक्रम होइन, एउटा सफ्ट पावर हो। जियोपोलिटिकल्ली पनि र समाजभित्र विभिन्न समुदायलाई जोड्ने माध्यमका रूपमा पनि यसको महत्त्व छ। त्यसैले राज्यले यसमा लगानी गर्नुपर्छ भन्ने लाग्छ,” उनले भने। यो सेसनमा सहजकर्ताको भूमिका पत्रकार राज सरगमले निर्वाह गरेका थिए।