काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

२४ जेष्ठ २०८३
अ+
अ-

हुम्ला। ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ। सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो।

ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यति बेला खानेपानीकै लागि पुमखोला र काँडागाउँबाट उकालो चढेर पानी ल्याउनुपर्ने बाध्यता छ। उनले भने, “भैसेवाज गाउँमा विद्यालय जाने समयमा प्रत्येक विद्यार्थी हरेक दिन बिहान खाली ग्यालिन लिएर जान्छन् र साँझ विद्यालय बिदा हुने बित्तिकै उक्त ग्यालिनमा पानी भरेर घर फर्किन्छन्।”

उक्त विद्यालयमा अध्ययनरत लोकन्द्र खड्काले पढ्नुभन्दा बढी साँझ पानी बोक्नकै पिरलो बढी हुने गरेको बताए। “दिउँसो कक्षामा पनि साँझ पानीको ग्यालिन कसरी लैजाने र घरपरिवारलाई पानी कसरी खुवाउने होला भन्ने चिन्ताले सताइरहन्छ”, उनले भने।

उक्त बस्ती अग्लो डाँडामा छ। उक्त बस्तीकाले पिउँदै आएको पानीको मुहान सुकेपछि समस्या भएको छ । त्यहाँसम्म पानी ल्याउन अन्य मुहान नै नभएको वडाध्यक्ष मोहनलाल रिठालले बताए।

यस वर्ष रु तीन लाख विनियोजन गरेर काँडागाउँमा खानेपानीको व्यवस्थापन गर्न खोजेको भए पनि उक्त बस्तीमा सम्भव नभएपछि अहिले आकाशे पानी सङ्कलन गर्ने योजना अघि बढाएको वडाध्यक्ष रिठालले बताए। एक एक हजारका ८० वटा ड्रम वितरण गरी आकाशे पानी सङ्कलन गर्ने योजना बनाएको उनले बताए।

“यसले मात्र समस्या समाधान नहुने भएकाले तीनै तहका सरकारसँग दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छौँ”, उनले भने।

उक्त गाउँका मिलन खड्का आफूले केही समयअघि पानीको समस्या लिएर सङ्घीय खानेपानी मन्त्रालयसम्म धाएको बताउँछन्। बस्तीमा भएको खानेपानीको समस्याको श्रव्य दृश्य सामग्री देखाउँदै मन्त्रीलाई समेत यस विषयमा जानकारी गराएको उनको भनाइ छ।

मन्त्रीले कुनै पनि हालतमा व्यवस्था गर्छु भन्ने आश्वासन दिएको खड्काले बताउनुभयो । खड्काले यसकै लागि आफू व्यक्तिगत रु ५० हजार खर्च गरेर सङ्घीय राजधानी गएको बताए।