काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

२५ जेष्ठ २०८३
फेवा ताल। तस्बिर : रिना थापा
अ+
अ-

कास्की। प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुंगा चढ्ने यात्रु र चालकको पहिलोपटक बिमा गरिएको छ। फेवा डुंगा व्यवसायी संगठनले फेवातालमा डुंगा चलाउने चालक तथा डुंगामा सयर गर्ने यात्रुको बिमा गरेको हो।

संगठनले शिखर इन्स्योरेन्स कम्पनीसँग आगामी एक वर्षका लागि लागू हुने गरी बिमा गरिएको अध्यक्ष बलराम गिरीले जानकारी दिए। उनका अनुसार तालमा कुनै किसिमको दुर्घटना भई घाइते भएमा उपचार खर्चबापत एक लाख रुपैयाँ प्रदान गरिनेछ। मानवीय क्षति भएमा परिवारले पाँच लाख रुपैयाँ पाउनेछन्।

संगठनमा दर्ता भई सञ्चालनमा रहेका डुंगामा यो नियम लागू हुने अध्यक्ष गिरीले जानकारी दिए। “बिमाका लागि पहिलादेखि नै प्रयास गरेका थियौँ तर सफल हुन सकिएको थिएन। सुरक्षाका दृष्टिकोणले बिमा अत्यावश्यक देखिएकाले पहिलोपटक यो व्यवस्था सुरु गरेका छौँ। यसबाट डुंगा चालक तथा सवार यात्रुले सुरक्षित महसुस गर्ने वातावरण बनेको छ भने यसको सन्देशले सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौँ‚” उनले भने।

फेवातालमा बर्सेनि विभिन्न किसिमका दुर्घटना हुँदै आएका छन्। बिमा गरेसँगै डुंगा चालकले सुरक्षाको महसुस भएको प्रतिक्रिया दिएका छन्। फेवातालका विभिन्न आठवटा डुंगा स्टेसनबाट ८४७ डुंगा सञ्चालन भइरहेका छन्। यहाँ झन्डै ३५० डुंगाचालक छन्।

पोखराको प्रमुख पर्यटकीय आकर्षण भएकाले पोखरा घुम्न आउने सबैजना फेवाताल पुग्ने गर्छन्। फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका कारण पनि डुंगा चढेर दर्शन गर्न जाने पर्यटकको यहाँ सधैँजस्तो घुइँचो हुने गर्छ।