काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मे महिनाका लागि प्रदान गरिने ‘प्लेयर अफ द मन्थ’ अवार्डको मनोनयन सूचीमा नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई समावेश गरेको छ।
आईसीसीले हरेक महिनामा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये तीन जनालाई प्रारम्भिक रूपमा छनोट गरी अन्तिम विजेता चयनका लागि भोटिङ प्रक्रिया अघि बढाउने गर्दछ। सोही प्रक्रियाअनुसार मे महिनाको सूचीमा दीपेन्द्रसँगै बंगलादेशका दुई खेलाडी पनि मनोनयनमा परेका छन्।
मनोनयनमा परेका अन्य दुई खेलाडीमा बंगलादेशका विकेटकिपर–ब्याट्सम्यान मुस्फिकर रहिम र स्पिनर ताजिउल इस्लाम रहेका छन्। अन्तिम विजेता चयनका लागि उनीहरूबीच भोटिङ हुनेछ।
हाल उत्कृष्ट लयमा रहेका दीपेन्द्रले ब्याटिङ र बलिङ दुवै पक्षमा निरन्तर प्रभावकारी प्रदर्शन गरिरहेका छन्। यसैबीच, आईसीसीको टी-२० अन्तर्राष्ट्रिय वरियतामा उनी पाँचौँ स्थानबाट उक्लिएर चौथो स्थानमा पुगेका छन्।
उनी हाल बेल्जियममा आयोजना भइरहेको ईयू टी-२० लिगमा सहभागिता जनाइरहेका छन्।