काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बस्ने दोलखाको सैलुङ गाउँपालिका-२ घर भएकी ४५ वर्षीया रूकु कुमारी श्रेष्ठ र काठमाडौँ टोखा नगरपालिका-६ बस्ने मोरङको उर्लाबारी नगरपालिका-६ घर भएका ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।
३ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।