हुम्ला। हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।
गाउँपालिकाभित्रका लक्षित उमेर समूहका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताए।
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाभित्रका सबै वडामा खोप लगाउने बालबालिकाको विवरण सङ्कलन, अनुगमन तथा प्रमाणीकरण प्रक्रिया पूरा भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शाखा प्रमुख भण्डारीको भनाइ छ।
कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए।
कार्यक्रममा खोप अभियान सफल बनाउन योगदान पुर्याउने पत्रकार जिल्लास्थित सञ्चारकर्मीलाई कदरपत्र प्रदान गरिएको थियो।
साथै स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिसहित यहाँका नागरिकलाई स्वास्थ्य शाखाले धन्यवाद दिएको थियो।
आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई निरन्तरता दिँदै पूर्ण खोपको अवस्थालाई दिगो बनाइराख्न सबै पक्षको सहकार्य आवश्यक रहेको जोड दिइएको थियो।
स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार
स्वास्थ्य सेवा कार्यालय हुम्ला र सिमकोट गाउँपालिकाबीच स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क उपचार गरिने भएको छ। गाउँपालिका र स्वास्थ्य कार्यालयबीच निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिने विषयमा सहमति भएको छ।
महिला स्वयंसेविकालाई निःशुल्क उपचारमा गरिने सम्झौतापत्रमा गाउँपालिका अध्यक्ष भण्डारी र स्वास्थ्य कार्यालय हुम्ला प्रमुख डाक्टर उमाकान्त तिवारीबीच हस्ताक्षर भएको छ।
लामो समयदेखि स्वास्थ्य क्षेत्रको मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका स्वयंसेविकाको योगदानको सम्मानस्वरूप उनीहरूलाई निःशुल्क उपचार गरिने सहमति भएको स्वास्थ्यका प्रमुख तिवारीको भनाइ छ।
जिल्ला अस्पतालले स्वयंसेविकालाई अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्नेछ भने सिमकोट गाउँपालिकाले सम्बन्धित स्वयंसेविकालाई जानकारी गराउने तथा आवश्यक परिचयपत्र उपलब्ध गराउने जिम्मेवारी लिएको छ।
सेवा लिन जाँदा स्वयंसेविकाले अनिवार्य रूपमा परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ।