नियात्रा

कविता पढेर ताजमहल हेर्न जागेको हुटहुटी

३० जेष्ठ २०८३
भारतको आग्रास्थित ताजमहल। तस्बिर स्रोत : ललित राजोरा
अ+
अ-

ताज तिम्रा लागि प्रेमको एउटा प्रतीक हुन सक्छ!
तिमीलाई यी रमणीय स्थानसँग श्रद्धा हुन सक्छ!
मेरी प्रेयसी, तिमी कतै अन्तै भेट्ने गर मसँग!

राजदरबारमा गरिबको प्रवेशको के अर्थ?
जुन द्वारमा टाँसिएका छ्न् वैभवका चिह्नहरू
त्यही पथमा प्रेमिल आत्माले यात्रा गर्नुको के औचित्य?
मेरी प्रेयसी, प्रेमको विज्ञापनको पर्दापछाडि लुकेका
वैभवका चिह्नहरू त तिमीले देख्नुपर्ने!
मुर्दा शासकहरूका चिहानसँग रमाउने तिमी!
आफ्नो अँध्यारो झुपडीमा एकचोटि त चियाउनुपर्ने!
असंख्य मानिसहरूले प्रेम गरे, यो जगत्‌मा
कसले भन्छ, पवित्र थिएन उनीहरूको माया
तर थिएनन् कुनै प्रेमको विज्ञापनका साधनहरू
किनकि उनीहरू पनि निर्धन थिए हामी जस्तै
यी महल र दरबारहरू, यी किल्ला र पर्खालहरू
स्वेच्छाचारी राजाको महान्‌ताको स्तम्भ
संसारको पछ्यौरीमा बुट्टा भर्ने ती रंगहरू
जसमा मिसिएको छ तिम्रा र मेरा पुर्खाहरूको रगत
मेरी प्रेयसी, उनीहरूले पनि त प्रेम गरे होलान्
जसका हातका कलाले प्रदान गरे यो सुन्दर रूप
उनीहरूको प्रेमको चिहानको नाम निसान छैन
आजसम्म न कसैले जलायो कुनै दियो!
यी बगैँचा, यो जमुनाको किनारा, यो महल
यी चित्र कुँदिएका भित्ताहरू, यी खोपा र ढोकाहरू
एउटा बादशाहले दौलतको सहारा लिएर
हामी गरिबको प्रेमको उडायो भद्दा मजाक
मेरी प्रेयसी, कतै अन्तै भेट्ने गर मसँग!!

(अनुवाद : रिमा केसी)

लोकप्रिय भारतीय कवि साहिर लुधियानवीद्वारा लिखित ‘ताजमहल’ कविता हो यो। भनिन्छ, यही कविताले गर्दा अर्की चर्चित भारतीय कवि साहित्यकार अमृता प्रीतमले साहिरलाई प्रेम गर्न थालेकी थिइन्। आज पनि उनीहरूको त्यो अलौकिक प्रेमको चर्चा संसारभर हुने गर्छ।

अमृता प्रीतमले जीवनको अन्तिम समयमा आफ्ना प्रेमी इमरोजका लागि एउटा कविता लेखेकी थिइन्,

म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
तर तिमीलाई पक्कै भेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु ...

उमेरले अमृताभन्दा १२ वर्ष कान्छा थिए इमरोज। उनीहरूले जीवनका ४० वर्ष एउटै छतमुनि ‘लिभिङ टुगेदर’ को जिन्दगी बाँचे। म अमृतासँग यही कवितामार्फत परिचित भएँ। त्यसपछि साहिर र इमरोजलाई पनि नजिकबाट बुझ्ने मौका मिल्यो। उनीहरूको चर्चित त्रिकोणात्मक प्रेमकथाले कसलाई पो प्रभावित नगर्ला।

अमृताका कविताले यसरी आकर्षित गरे कि उनको जीवनी नपढी मन थाम्नै सकिनँ। उनको जीवनी रसीदी टिकट पढेपछि बल्ल थामिएकी थिएँ म। अमृताको जीवन, संघर्ष, साहिर र अमृताका प्रेमका किस्सा अनि इमरोजसँगको सम्बन्धभित्र प्रेमका अनेक आयाम भेटिन्छन्। यही बेला मैले पहिला धेरै चोटि सुनिसकेका साहिरका गजल खोजीखोजी फेरि सुन्न थालेँ। ‘कभी कभी मेरे दिलमे एक खयाल आता हे’ सुन्दै गर्दा साहिरले अमृताका लागि नभएर मेरै लागि लेखेका हुन् कि जस्तो लाग्थ्यो। युट्युबमा नभएका तर गुगलमा भेटिए जति साहिरले लेखेका सबै गजल खोजीखोजी पढेँ। उनको निकै चर्चित कविता ‘ताजमहल’ ले मलाई एकदम प्रभावित बनायो। त्यसपछि यस कवितालाई मैले नेपालीमा अनुवाद गरेँ। अमृता प्रीतमका कविताहरू त्यसअघि नै अनुवाद गरेकी थिएँ।

यही कविताले ममा एकाएक ताजमहल पुग्ने हुटहुटी जगायो। मलाई भने साहिरको कविता पढेदेखि कतिबेला ताजमहल पुगूँ भन्ने भइरहेको थियो।

दसैँ बिदामा ताजमहल जाने निर्णय गरेँ। बिदा भएपछि अरू दसैँ मनाउन आआफ्ना घर-गाउँतिर हिँडे। म भने छोरी बोकेर आगराका लागि निस्किएँ।

भोलिपल्ट बिहानका लागि गोरखपुर रेलको टिकट बुक गरिसकेकी थिएँ। करिब साँझ ७ बजे सुनौलीको नाइट बस चढेर यात्रामा निस्कियौँ। रातभर नाइट बसको यात्रा निदाएरै गरियो। बिहान उज्यालो हुँदा बसले सुनौली पुर्‍यायो। बोर्डरमा मानिसको भिडभाड थियो। वारिपारि गर्न रिक्सावालाहरूको लाइन थियो। मान्छेहरूलाई तानेरै, बोकेरै आफ्नो रिक्सामा चढाउलान् कि जस्तो गर्थे। एकछिन त डर पनि लाग्यो।

बोर्डर पार गराएको त्यत्रो पैसा? म जंगिएँ। उसले ‘यो इन्डिया हो भारु चाहिन्छ, यहाँ तपाईंको होइन, हाम्रो चल्छ’ भन्दै उल्टै झर्कियो। वरिपरिका रिक्सावाला घाँटीमा गम्छा बटार्दै ‘क्या हुआ अब्दुल’ भन्दै आए। मलाई अलिक डर लाग्यो।

नेपाल प्रहरीले सोधपुछ गरे। कहाँ जाने, किन जाने, नागरिकता देखाउनुहोस् भन्दै केरकार गरे। नागरिकतामा प्युठान लेखेको देखेपछि मेरो अनुहारमा पुलुक्क हेरेर मुस्कुराउँदै भने, ‘आफ्नै गाउँकी चेलीबेटी पो हुनुहुँदो रहेछ। ल राम्रोसँग जानुस्। चोर-ठगहरू लाग्न सक्छन्, होसियार भएर जानुहोला। अनि कहिले फर्किनुहुन्छ नि?’

झोला बोकेर अलिक पर पुगेकी थिएँ। फरक्क फर्केर भनेँ– तीनचार दिनमा।

‘ल राम्रोसँग घुमेर आउनुहोला, शुभयात्रा!’ भन्दै उनले हात हल्लाए। मैले धन्यवाद दिएँ।

त्यतिन्जेल रिक्सावालाहरूले घेरिसकेका थिए। एउटाले ब्याग नै तान्न आएपछि मैले कतिमा लग्ने भनेर सोधेँ।

‘पहिले बस्नुहोस् न, मिलाएर लगिहाल्छु नि, किन चिन्ता लिनुहुन्छ’ भन्दै उसले ब्याग बोकेर रिक्सामा राख्यो। हामी आमाछोरी उसलाई पछ्याउँदै रिक्सामा बस्यौँ। हामीतिर कर्के नजर लाउँदै, भोजपुरी गीत गाउँदै, पिच्चपिच्च पान थुक्दै उसले बोर्डरपारि रेल स्टेसन पुर्‍यायो। ओर्लने बेला ६०० भारु माग्यो।

मेरो त होसै उड्यो। बोर्डर पार गराएको त्यत्रो पैसा? म जंगिएँ। उसले ‘यो इन्डिया हो भारु चाहिन्छ, यहाँ तपाईंको होइन, हाम्रो चल्छ’ भन्दै उल्टै झर्कियो। वरिपरिका रिक्सावाला घाँटीमा गम्छा बटार्दै ‘क्या हुआ अब्दुल’ भन्दै आए। मलाई अलिक डर लाग्यो।

ताजमहलअगाडि तस्बिर खिचाउँदै लेखक केसी। तस्बिर स्रोत : केसीको फेसबुक

हामी आमाछोरी मात्र थियौँ। केही नबोली उसले भने जति पैसा दिएर स्टेसनतिर लाग्यौँ। रेल स्टेसनमा मानिसहरू खचाखच थिए; हल्ला त्यस्तै, फोहोर त्यस्तै। पान र गुट्का खाएर जहाँतहीँ थुक्दा जमिन रातै थियो। जता गयो डुङडुङ गनाउने, त्यही माथि त्यस्तो फोहोर भुइँमा मानिसहरू लमतन्न सुतिरहेका थिए। एकछिन त मलाई अनौठो पनि लाग्यो। बोर्डरपारि नेपाल त्यस्तो सफासुग्घर छ, वारि भारत यस्तो फोहोर, दुर्गन्ध, भिड र अस्तव्यस्त।

आफू जाने रेलबारे जानकारी लिन सोधपुछ शाखा खोज्दै भौँतारिएँ। रेल साँझ ७/८ बजेतिर मात्र छुट्ने जानकारी मिल्यो। अब पर्‍यो फसाद! दिनभरि गर्ने के? जाने कहाँ? त्यतै अलमलिएर समय बित्यो। नानीले भोक लाग्यो भनेपछि खाजा खान बाहिर बजारतिर निस्कियौँ। त्यहाँ पनि त्यस्तै भिडभाड, धुवाँ, धुलो र फोहोर, उफ्! एकछिन सास नै रोकिए जस्तो भयो।

निकैबेर खाजा खाने ठाउँ खोज्यौँ। गतिलो, सफासुग्घर र ताजा खाजा पाउने ठाउँ कतै भेटेनौँ। निकै चक्कर काटेपछि अलि सफा ठाउँ भेटियो। रोटी-तरकारी मगाएर खायौँ। पेट भरिएपछि कता जाने निधो भएन। यताउता हेर्दै उभियौँ।

अगाडिपट्टि तीनचार जना भारतीय नागरिक बनारस जाने कुरा गर्दै थिए, त्यो पनि क्याब बुक गरेर। यसैबिच गंगा नदीको सन्ध्या आरती हेर्ने कुरो हुँदै थियो। खुब रमाइलो सन्ध्या आरती हुन्छ भनेर आमैले छोराछोरीलाई सुनाइरहेकी थिइन्। छोराछोरी त्यहाँ पुग्न निकै आतुर देखिन्थे।

साहिरको कविताले भने जसरी ताजमहललाई नजिकबाट अवलोकन गर्दा त्यहाँ अदृश्य रूपमा मजदुरका औँलाका डाम लुकेको भान भयो। ताजमहलअघि उभिएर आफैँले अनुवाद गरेको साहिरको त्यही ‘ताजमहल’ कविता वाचन गरेँ।

मलाई पनि झोक चल्यो– हामी पनि त्यतै चल्दिनुपर्छ कि क्या हो? मैले लाइनमा रोकिएकामध्ये अगाडिको क्याबमा गएर ड्राइभरलाई सोधेँ। पाँच हजार लाग्छ, नरोकी जाने भए चारपाँच घण्टामा पुर्‍याउँछु भन्यो।

फेरि डर पनि लाग्यो। आमाछोरी मात्रै छौँ, केही थाहा छैन। कतै लगेर बेचिदिने पो हो कि? फेरि एकमनले सोचेँ– ह्या डराएर हुन्न, चल्दे केटी। डरके आगे जित है भनेर आफैँलाई हौसला दिएँ। अलिक अगाडि  पुलिस थाना रहेछ। तीनचार जना पुलिस थिए। मलाई देखेर एकछिन हेराहेर गरे अनि के भयो भनेर हिन्दीमा सोधे।

मैले क्याबको यात्रा कत्तिको सुरक्षित हुन्छ? बनारससम्मको भाडा कति लिन्छ भनेर सोधेँ। उनीहरूले  ढुक्क बनाएपछि गाडीमा ब्याग राखेँ। अनि सुरु भयो हाम्रो आकस्मिक बनारस यात्रा। बिहारका फाँट, गाउँबस्ती र सहरबजारका दृश्य हेर्दै अघि बढियो। बाटोमा ड्राइभरले स्थानीय राजनीति, समाज, फिल्म र कलाकारसँग जोडिएका अनेक कथा सुनाए।  करिब साँझ ५ बजेतिर बनारस पुग्यौँ। ड्राइभरले चिनेको एउटा होटेलमा लगेर छोडिदिए। केहीबेर आराम गरी रिक्सा चढेर निस्कियौँ, गंगा किनारको सन्ध्या आरती हेर्न। गंगा तटमा पुग्दा मान्छेको निकै भिड थियो। निकै भिड भए पनि त्यो साँझ निकै मनमोहक थियो। दियो र बत्तीहरूको झिलिमिली, शंंख र घण्टको ध्वनिसहितको आरतीले बनाएको माहोल यति मनमोहक थियो कि शब्दमा बयान गर्न सक्दिनँ।

ताजमहल। तस्बिर स्रोत : ताजमहल डट जीओभी डटइन

आरती सकिएपछि होटल फर्केर खाना खाएर सुत्यौँ। बिहान फेरि क्याब बुक गरेर आगराका लागि निस्क्यौँ। रेल अबेर आउने र बसमा जाँदा निकै टाढा पर्ने भएकाले क्याबमै चल्दियौँ। ठूलो बाटो, जंगलको हावा खाँदै गाडीको रफ्तारको मजा लियौँ। कलकत्ता पुगेपछि फास्ट ट्र्याकको फराकिलो सडकमा तुफान उड्यो गाडी। खाजा, खाना सबै ढावातिरै खायौँ। बाटोमा मिराज देखिन्थ्यो। बिच सडकमा एक लेन रंगीचंगी फूलैफूल, छेउ छेउमा पनि सुन्दर फूलहरू। बाटो पनि निकै सफा। छेउछाउका विशाल फाँटमा किसानहरू धान भित्र्याउन व्यस्त देखिन्थे।

करिब साँझतिर आगराको ताजमहल पुगियो। कुहिरोमा रुमल्लिए जस्तो ताजमहल देखेर खुसी भएँ कि दु:खी, आफैँलाई थाहा छैन। नानीले भोक लाग्यो भनेपछि बिर्यानी खान गयौँ। लस्सी पियौँ। बाटोमा एसिड आक्रमणमा परेका महिलाहरूले खोलेको क्याफेमा पुग्यौँ। त्यहाँ पुग्दा क्याफे बन्द हुने तरखरमा थियो। त्यसैले दुईतीन जना महिलालाई भेटेर शुभकामना दियौँ र फर्कियौँ। सामाजिक सञ्जालमा पनि निकै चर्चित रहेछ त्यो क्याफे।

ताजमहलमा छोरीसँग रिमा केसी। तस्बिर स्रोत : केसीको फेसबुक

बिहानै उठेर खाजा खाएर ताजमहल निस्कियौँ। टिकट काट्ने ठाउँमा नानीको आईडी मागियो। उसले बोक्नै बिर्सेकी रहिछ। अब पर्‍यो फसाद। बच्चा हो भन्दा विश्वास गरेन। १२ वर्ष मुनिकालाई हाफ टिकट लाग्ने रहेछ। निकैबेर केरकार गरे। एसियाली सबैलाई समान शुल्क लिने रहेछन्। बल्लतल्ल मनाएर भित्र पस्न लाग्दा फेरि पुलिसले रोक्यो। जन्ममिति सोध्दा नानीले विक्रम संवत्‌मा भनिछे। फेरि अंग्रेजी जन्ममिति बताएपछि बल्ल भित्र प्रवेश गर्न पाइयो।

भित्र सामान लैजान निषेध गरिएको रहेछ। मेरा दुई पुस्तक साथमै लगेकी थिएँ। यात्रामा अक्षर कवितासंग्रह र अमृता प्रीतमका छाडिएका कविता दुवै बाहिर छाड्नुपर्‍यो।

भित्र सबै जना फोटो-भिडिओ खिच्न व्यस्त थिए। हामी पनि के कम!

ताजमहललाई नजिकबाट नियाल्न पाउँदा एकछिन त मन फुरुंग भयो। एकछिनपछि मेरो मन त्यसै त्यसै भारी भयो। आँखाबाट अनायासै आँसु खस्यो। मान्छेहरू मलाई हेरिरहेका थिए। नानी पनि के भयो भनेर सोधी। मैले यत्तिकै टारिदिएँ। मलाई नै थाहा छैन, म किन त्यसरी रोएँ। केहीबेर पछि आफैँलाई सम्हालेँ। ताजमहल अवलोकन गर्दै जाँदा मुमताज र शाहजहाँको चिहान नजिकै पुगियो। जमुनाको किनार हेरेँ। त्यहाँका भित्ता, खोपा र स्तम्भ नियालेँ। साहिरको कविताले भने जसरी ताजमहललाई नजिकबाट अवलोकन गर्दा त्यहाँ अदृश्य रूपमा मजदुरका औँलाका डाम लुकेको भान भयो।

ताजमहलअघि उभिएर आफैँले अनुवाद गरेको साहिरको त्यही ‘ताजमहल’ कविता वाचन गरेँ। अनि अन्त्यमा सुन्निएका आँखा, बिग्रेको अनुहार र भारी मन लिएर ताजमहलबाट फर्किएँ।