ललितपुर। ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई-चलान प्रणालीको आरम्भ गरेको छ।
महानगरभित्र जथाभावी पार्किङ गर्ने, जथाभावी फोहोरमैला फाल्ने, बोटबिरुवा भाँच्नेलगायत काम गर्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन सक्ने गरी ई-चलान प्रणालीको शुभारम्भ गरेको हो।
महानगरले बर्जित गरेका कामको जरिवाना सहज रूपमा तत्कालै बुझाउन सक्ने गरी क्यूआर कोडसहितको ई-चलान प्रणाली लागू गरिएको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। महानगरलाई डिजिटल रूपमा सेवामैत्री बनाउने उदेश्यका साथै ई-चलानको अवधारणालाई अघि सारिएको उनको भनाइ छ।
ई-चलान सुरु भएसँगै अब जरिवाना बुझाउन महानगरको कार्यालय पुग्नुपर्ने अवस्था अन्त्य भएको महर्जनको भनाइ छ।