काठमाडौँ
००:००:००
१ असार २०८३, सोमबार

१ असार २०८३
जितबहादुर शेरचन।
अ+
अ-

पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।

गण्डकी प्रदेशसभा बैठकमा सोमबार गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले आगामी आवका लागि करिब ३३ अर्बको बजेट प्रस्तुत गरेका हुन्।

कुल बजेटमध्ये पुँजीगततर्फ २० अर्ब दुई करोड ६१ लाख २२ हजार रुपैयाँ अर्थात ६०.६८ प्रतिशत र चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात ३८.५६ प्रतिशत रकम छुट्याइएको मन्त्री शेरचनले बताए। त्यस्तै वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए।

त्यस्तै बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने र राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको मन्त्री शेरचनले उल्लेख गरे।

त्यस्तै उनले ससर्त अनुदानबाट तीन अर्ब ९३ करोड तीन लाख रुपैयाँ, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अनुमान रहेको जानकारी दिए।

प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट पाँच अर्ब ८४ करोड १८ लाख ५२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य रहेको भन्दै चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपछि दुई अर्ब रुपैयाँ नगद मौज्दात रहने मन्त्री शेरचनले बताए। उल्लेखित स्रोतबाट खर्च व्यहोर्ने गरी न्यून रहेको एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत पूर्ति गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।