काठमाडौँ। प्रहरीले कोकिन कारोबारमा संलग्न तीन जना विदेशी नागरिक पक्राउ गरेको छ। पक्राउ पर्नेमा अफ्रिकी मुलुक सेनेगलका ४३ वर्षीय अमाडोउ सार, भारत दक्षिण दिल्लीकी ३६ वर्षीया रुबी र ३१ वर्षीया सोनी रहेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार तीनै जनालाई काठमाडौँ महानगरपालिका-२६ ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार दुई भारतीय महिला उक्त लागुऔषध बुझ्न जाँदा क्राउ परेका हुन्।
सार २६ जेठमा कतार एयरको जहाजमा इथियोपिया-दोहा हुँदै काठमाडौँ आएका थिए। उनले ७६ वटा क्याप्सुल कोकिन मुखबाट निलेर काठमाडौँ आएका थिए।
प्रहरीले उनको पेटभित्र रहेका कोकिनका क्याप्सुल चिकित्सकको सहयोगमा निकालेको थियो। कोकिन जम्मा १ किलो ५०० ग्राम रहेको छ।
रेग्मीका अनुसार ती व्यक्ति भरिया हुन्। आफ्नो देश लैजान कोकिन लिन काठमाडौँ आएका भारतीयसमेत पक्राउ परेका हुन्। बरामद कोकिनको मूल्य करिब आठ करोड रुपैयाँ हुन आउने प्रहरीले अनुमान गरेको छ।
पक्राउ परेका व्यक्तिउपर लागुऔषध मुद्दामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ।