काठमाडौँ। विशेष अदालतले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन थुनामा राख्न अनुमति दिएको छ।
अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले सोमबारदेखि लागू हुने गरी अर्याल र केसीलाई चार दिन थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको विशेषका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
अख्तियारले विशेष अदालतमा अर्याल र केसीलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको भन्दै म्याद थपका लागि निवेदन दिएको थियो।
अख्तियारले सोमबार बेलुका दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो। मंगलबार थप अनुसन्धानका लागि हिरासतमा राख्न आवश्यक रहेको भन्दै अख्तियारले दुवैलाई विशेष अदालतमा उपस्थित गराएको हो।
राहदानी छपाइको ठेक्काको विषयमा भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ। त्यही क्रममा अर्याल र केसीलाई पक्राउ गरिएको हो।
यसअघि नै अख्तियारले राहदानी विभागबाट यससम्बन्धी कागजात नियन्त्रणमा लिइसकेको थियो। कागजात अध्ययनलगत्तै दुवैसँग बयान लिन थालिएको अख्तियारले जनाएको छ।
विशेषको यो आदेशसँगै आयोगले अब चार दिनभित्र आवश्यक प्रमाण संकलन, बयान तथा अन्य अनुसन्धानात्मक कार्य अघि बढाउनेछ।