काठमाडौँ
००:००:००
४ असार २०८३, बिहीबार

४ असार २०८३
डोनाल्ड ट्रम्प/ फाइल फोटो
अ+
अ-

काठमाडौं। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित १४ बुँदे युद्धविराम समझदारी भएको दाबी गरिएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको मस्यौदाअनुसार दुवै पक्षले युद्ध अन्त्य, प्रतिबन्ध हटाउने, होर्मुज जलडमरूमार्ग खुला गर्ने र इरानको पुनर्निर्माणमा सहयोग गर्ने विषयमा सहमति जुटाएका हुन्।

अलजजिराकाे समाचार अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  प्रशासनका एक वरिष्ठ अधिकारीले पत्रकारहरूसँगको संवादमा अमेरिका–इरान समझदारीपत्रका बुँदाहरू पढेर सुनाएका थिए। यसलाई ट्रम्प प्रशासनबाट आएको अहिलेसम्मकै स्पष्ट संकेत मानिएको छ।

समाचारअनुसार दुवै पक्षले शुक्रबार हुने विशेष समारोहमा औपचारिक हस्ताक्षर गर्ने तयारी गरेका छन्। यद्यपि अमेरिका र इरानले हालसम्म सम्झौताका बुँदा औपचारिक रूपमा सार्वजनिक गरेका छैनन्। केही दिनअघि इरानी सञ्चारमाध्यमहरूले अमेरिकी प्रस्तावका रूपमा १४ बुँदे दस्तावेज सार्वजनिक गरेका थिए।

समझदारीले लेबनानसहित क्षेत्रका सबै मोर्चामा जारी सैन्य गतिविधि रोक्ने, अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने तथा होर्मुज जलडमरूमार्गलाई पुनः अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खुला गर्ने उल्लेख गरिएको छ। प्रारम्भिक मस्यौदामा इरानको आणविक कार्यक्रम, अमेरिकी प्रतिबन्ध हटाउने, रोक्का सम्पत्ति फुकुवा गर्ने र करिब ३०० अर्ब डलरको पुनर्निर्माण योजनासमेत समेटिएको बताइएको छ।

मस्यौदाअनुसार अमेरिका र इरानले एकअर्काविरुद्ध सैन्य कारबाही नगर्ने, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने तथा ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, अमेरिकाले इरानमाथिका आर्थिक तथा ऊर्जा क्षेत्रका प्रतिबन्ध क्रमशः हटाउने, रोक्का सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने र क्षेत्रबाट अतिरिक्त सेना फिर्ता गर्ने प्रस्ताव राखेको जनाइएको छ। बदलामा इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

समझदारीको अन्तिम चरणमा हुने औपचारिक सम्झौतालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट बाध्यकारी प्रस्तावमार्फत अनुमोदन गरिने मस्यौदामा उल्लेख छ।