काठमाडौँ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बिहीबार विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तनलगायत ऐन ल्याउने योजना रहेको बताए।
उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमा गरिने र आगामी वर्षदेखि कार्यान्वयनमा लैजाने उल्लेख गरे।
मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारले समेत आवश्यक बजेट छुटाउन सुझाव दिए। मन्त्रालयलाई छुट्याइएको चार अर्बमध्ये योजना र कार्यक्रम नभएकाले साढे तीन करोड भने अबन्डामा रहेको उनले जानकारी दिए।
मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अब अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गरे।