काठमाडौँ
००:००:००
५ असार २०८३, शुक्रबार

‘इलिफेन्ट इन द फग (तिनीहरू)’ लाई १० लाख रुपैयाँसहित काठमाडौँ महानगरपालिकाको सम्मान

५ असार २०८३
तस्बिरहरू : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आज खुलामञ्चबाट ‘टोल टोलमा फिल्म महोत्सव’ को औपचारिक शुभारम्भ गरेको छ।

खुलामञ्चमा अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित लघु चलचित्र ‘सवारी साहित्य’ र इशान भुसाल निर्देशित लघु चलचित्र ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन हुनेछन्। यी लघु चलचित्र काठमाडौँ माउन्टेन इन्टरनेसनल फिल्म फेस्टिभलसँगको सहकार्यमा प्राप्त भएका हुन्।

महोत्सवका कार्यक्रम असार महिनाभरि हरेक शुक्रबार र शनिबार सञ्चालन हुनेछन्। यी कार्यक्रममा प्रदर्शन गरिने लघु चलचित्र चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, काठमाडौँ माउन्टेन इन्टरनेसनल फिल्म फेस्टिभल, नेपाल फिल्म एकेडेमीसँग सहकार्यमा प्राप्त भएका छन्।

कार्यक्रमको प्राविधिक पक्ष महानगरपालिका आफैँले व्यवस्थापन गरेको छ भने व्यवस्थापनका खुला आह्वानबाट स्थानीय संघसंस्था छनोट गरेको छ। यसरी छानिएका संस्थाहरूले कार्यक्रम व्यवस्थापन गर्नेछन्। यसअन्तर्गत आजको कार्यक्रम इकोज इन द भ्यालीले गरेको छ। भोलि असन क्षेत्रमा महोत्सव हुनेछ। यो कार्यक्रम नीलः सांस्कृतिक क्लबले गर्नेछ।

येँःका पुचले बालाजु बाइपास क्षेत्रमा, निर्णय नेपालले बागबजार सडक खण्डमा, नेपाल भाषा स्यनेकने फाउन्डेसन, यट्खा बहाल भाष्करकीर्ति महाविहारमा, न्हुग पःला सांस्कृतिक मिसा पुचःले लगनटोल, मैतीदेवी युनाइटेड क्लबले मैतीदेवी मन्दिर खुला चौरमा कार्यक्रम व्यवस्थापन गर्नेछन्। सार्वजनिक स्थल, पार्क, डबली, चोकहरूमा फिल्म महोत्सवका कार्यक्रम आयोजना गर्ने योजनाअनुरूप यी स्थान छानिएका हुन्।

नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारलाई योगदान दिन रचनात्मक उद्योग र समुदायसँग जोड्नु महोत्सवको मुख्य उद्देश्य हो। महोत्सवमा लघु चलचित्र प्रदर्शन, चलचित्र, कला तथा रचनात्मक उद्योग लगायत विषयमा संवाद, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम तथा क्रियाकलाप हुनेछन्। मौलिक खानाका परिकार राखिनेछन्।

नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू) लाई सम्मान
कान फिल्म फेस्टिभलमा अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ र ‘वेस्ट साउन्ड क्रियसन’ अवार्डेड नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई नगद १० लाख रुपैयाँसहित सम्मान गरिँदै छ।

२९ वैशाख २०८३ देखि ९ जेठसम्म फ्रान्समा आयोजना भएको कान फिल्म फेस्टिभलको ७९औँ शृंखलामा अविनाश विक्रम शाह निर्देशित नेपाली कथानक चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गरेको थियो। कान प्रिमियरमा चलचित्रलाई दर्शकले उभिएर निरन्तर आठ मिनेट लामो तालीबाट सम्मान दिएका थिए। फेस्टिभलमा चलचित्रले ‘वेस्ट साउन्ड क्रियसन’ अवार्डसमेत प्राप्त गरेको थियो।

नेपाली चलचित्र उद्योगको गौरवलाई अन्तर्राष्ट्रिय स्तरमा उच्च बनाउन चलचित्रका लेखक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक तथा पर्दा अगाडि र पछाडि रहेका सबै सर्जकको सिर्जनालाई प्रोत्साहन गर्न काठमाडौँ महानगरपालिकाले सम्मान प्रदान गरेको हो। नेपालको काठमाडौँ र फ्रान्सको कान दुवै नगर ‘चलचित्र विधा’बाट ‘युनेस्को क्रियटिभ सिटिज नेटवर्क’को सदस्य हुन्।