घोराही। दाङ जिल्ला प्रशासन कार्यालयबाट गएको एक महिनामा दुई हजारभन्दा बढीले नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।
प्रशासकीय अधिकृत विजय गौतमका अनुसार जिल्ला प्रशासन कार्यालयबाट जेठ महिनामा दुई हजार ६४६ जनालाई नागरिकता प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय घोराही, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमार्फत ती नागरिकता वितरण गरिएको हो।
सोही अवधिमा एक हजार ४९९ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ३२ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार घोराहीबाट ८९६, तुलसीपुरबाट एक हजार ६७ र लमहीबाट ६८३ जनाले नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको जनाएको छ।
त्यस्तै जेठ महिनामै एक हजार २१७ जनालाई ई-पासपोर्ट वितरण गरिएको छ। त्यस घोराहीबाट ४१५, तुलसीपुरबाट ५१० र लमहीबाट ३०२ जनाले ई–पासपोर्ट सेवा लिएका छन्।
राष्ट्रिय परिचयपत्रतर्फ पनि सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिएको छ। जेठ महिनामा सात हजार ८९७ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ। अधिकृत गौतमका अनुसार घोराहीमा तीन हजार २२०, तुलसीपुरमा तीन हजार २४२ तथा लमहीमा एक हजार ४३५ जनाको दर्ता भएको तथ्यांकमा उल्लेख छ।