झापा। झापाको अर्जुनधारा नगरपालिका ९ मा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा १० प्रजातिका कछुवा संरक्षण गरिएको छ।
मुलुकमा पाइने कछुवाका प्रजातिमध्ये झन्डै ८० प्रतिशत लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको जनाएको छ।
सुखानी सहिद स्मृति प्रतिष्ठान र ‘आर्को नेपाल’को सहकार्यमा सन् २०१२ मा झापामा स्थापित यस केन्द्रमा हाल देशमा पाइने कुल प्रजातिको ५० प्रतिशतभन्दा बढी अर्थात् १० प्रजातिका करिब ५० वटा कछुवा संरक्षित छन्।
केन्द्रले सन् २०२० देखि अति संकटापन्न अवस्थाको भुइँ कछुवा (ठोटरी) को सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक बासस्थानमा पुनःस्थापना पनि गर्दै आएको छ।
कछुवा उद्धार तथा संरक्षण केन्द्रका प्रतिनिधि तपिलप्रकाश राईले जैविक विविधता र पारिस्थितिक प्रणाली सन्तुलनमा कछुवाको भूमिका महत्त्वपूर्ण हुने भएकाले यसको संरक्षण गरिएको बताए। उनी भन्छन्, “जल र जमिनमा बस्ने कछुवाले खाद्य शृंखलामा सघाउँछन्।”
जमिनमा बस्ने कछुवाले वनस्पतिका बिउ फैलाउन र सिमसारका कछुवाले अस्वस्थ जीव खाएर पानी शुद्धीकरण गर्न मद्दत पु्याउने उनको धारणा छ।
मरुभूमिमा कछुवाले खनेका खाडलमा ४०० भन्दा बढी प्रजातिका जीवले आश्रय पाउने र समुद्री कछुवाका माध्यमबाट समुद्रको पौष्टिक तत्त्व जमिनसम्म आइपुग्ने भएकाले कछुवा जोगाउनु पृथ्वीको संरक्षण गर्नु हो। उनले कछुवा भेटिएमा तुरुन्त डिभिजन वन कार्यालय वा संरक्षण केन्द्रमा खबर गर्न आग्रह गरेका छन्।