काठमाडौँ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को रिक्त उपाध्यक्ष पदका लागि २५ आवेदकको दरखास्त स्वीकृत भएको छ। यसैगरी रिक्त सदस्य-सचिवमा चारजनाको दरखास्त स्वीकृत भएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार आवेदकहरूको स्वीकृत नामावली सार्वजनिक गरेको हो। गत २१ जेठमा प्रकाशित दरखास्त आह्वानको सूचनाबमोजिम आवेदन दिएर प्रक्रिया र योग्यता पुगेको आवेदकले अब मूल्यांकन समितिले दिएको समयमा अन्तर्वार्ता र प्रस्तुतीकरण दिनुपर्नेछ।
परिषद्को अध्यक्ष पदेन शिक्षा तथा खेलकुदमन्त्री रहने व्यवस्था छ। पदाधिकारी रिक्त भएपछि हाल अनोज भट्टराई निमित्त सदस्यसचिव तोकिएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट पदमुक्तिसम्बन्धी विशेष अध्यादेशबाट जारी भएपछि अन्य निकायमा झैँ परिषद् पनि पदाधिकारीविहीन भएको थियो।