६ असार २०८३
अ+
अ-

काठमाडौँ। विदेशमा कार्यरत नेपाली श्रमिकहरूले रोजगार सम्झौताअनुसारको तलब र सेवा-सुविधा नपाएको, सुरक्षित आवासको व्यवस्था नभएको तथा सम्झौता विपरीत काम गर्न बाध्य पारिएको भन्दै पटक-पटक गुनासो गरेपछि सरकारले यस विषयमा कदम चालेको छ।

वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने सबै इजाजतपत्रवाला संस्थाहरू (म्यानपावर) लाई आफूले विदेश पठाएका श्रमिकहरूको अवस्था तत्काल अनिवार्य रूपमा अनुगमन गर्न निर्देशन दिएको हो।

नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा र श्रम अधिकारको प्रभावकारी संरक्षण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त निर्देशनबमोजिम विभागले यो नयाँ व्यवस्था लागू गरेको हो। अबदेखि प्रत्येक म्यानपावर कम्पनीले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति तथा समूह (लट नम्बर) का श्रमिकहरूको अवस्थाबारे अनिवार्य र नियमित रूपमा अनुगमन गर्नुपर्नेछ।

म्यानपावरहरूले मासिक रूपमा प्रत्येक समूहबाट कम्तीमा ५ देखि १० जना श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी सम्झौताअनुसारको तलब, आवास र कार्य वातावरणको अवस्थाबारे जानकारी सङ्कलन गर्नुपर्ने व्यवस्था गरिएको छ।