६ असार २०८३
अ+
अ-

काठमाडौँ। नेवार समुदायको धेरै चाडपर्वमध्येको एक हो, सिथि नखः पर्व। यो चाड अरूभन्दा भिन्न छ। यस अर्थमा कि नेवारहरूको धेरै चाडपर्वमा भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाइ गर्ने गरिन्छ। सिथि नखः पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गरिन्छ।

सबै टोलबासीहरू मिलेर आआफ्नो टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरी आदि सफा गर्ने चलन अद्यापि जस्ताको तस्तै चलिआएको छ। नेवारहरूको बस्ती रहेका देशैभरका कुनाकाप्चामा यो दिन यसरी नै पर्व मनाइन्छ।ग्रीष्म सकिएर वर्षा याम सुरु हुने बेला पर्ने जेष्ठ शुक्लपक्षको षष्ठी तिथि मा सिथि नखः मनाइन्छ।

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुने बताइन्छ।

सिथि नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास पनि रहेको छ। सिथि नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने परम्परा रहेको छ।

चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ। पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ।त्यसो त सिथि नखः को दिन पनि भोज नखाने होइन।

यो दिन मास, मुगी, केराउ लगायतका दालहान पकवान पकाउने चलन छ। यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी (मुठी पारी बनाइको एक किसिमको रोटी) आदि पकवान पकाएर खाने चलन छ।